‘आ बाट आमा’ ग्लोबल मार्केटमा प्रवेश, जापानसहित सात देशमा राइट्स बिक्री

...

काठमाडौँ । नेपाली फिल्म ‘आ बाट आमा’ ले रिलिज अगावै अन्तर्राष्ट्रिय बजारमा उल्लेख्य उपस्थिति जनाउँदै आएको छ। जापानमा ओम शान्ति ओम इन्टरटेनमेन्टसँग राइट्स सम्झौता गर्दै फिल्मले विदेशी बजारलाई लक्ष्यित प्रि स्ट्रिब्युसन रणनीतिलाई झनै सुदृढ बनाएको निर्माण टिमको भनाइ छ।

निर्देशक तथा लेखक चन्द्र पन्तले फिल्म विदेशी दर्शकका लागि पनि विषयवस्तु सान्दर्भिक रहेको भन्दै जापानसहित सात देशमा प्रदर्शन अधिकार बिक्री हुनु फिल्मको ग्लोबल सम्भावना र आकर्षणको सूचक भएको बताए। यसअघि नै अस्ट्रेलिया, न्यूजील्याण्ड, युएई, कतार, बहराइन र इजरायलमा राइट्स बिक्री भइसकेको छ भने अन्य मुलुकबाट पनि माग बढ्दो रहेको निर्माण पक्षले उल्लेख गरेको छ।

आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यस फिल्मको टिजर र गीत सार्वजनिक भएपछि विदेशी वितरकहरूबाट सोधपुछ र चासो तीव्र भएको बताइन्छ। यो क्रम नेपाली फिल्मको अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक संकेतका रूपमा पनि हेरिएको छ, विशेषतः नेपाली समुदाय बढी रहेका मुलुकमा बजार विस्तार केन्द्रित दृष्टिकोण प्रभावकारी देखिएको टिप्पणी विशेषज्ञहरूले गरिरहेका छन्।

फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्तलगायत कलाकारको अभिनय छ भने पटकथा र संवादमा निर्देशक पन्तसँगै अभिमन्यू निरवी र अमर न्यौपानेको सहकार्य छ। नवराज उप्रेती डिओपी, कोसिस क्षेत्री–बाबुल गिरी–थानेश्वर गौतम संगीत तथा गंभिर बिष्ट–दिलीप ओखेडा कोरियोग्राफी जिम्मेवार छन्।

लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्। आर आर फिल्मसले वितरण जिम्मा लिएको यस फिल्म आगामी माघ १६ गतेबाट रिलिज हुँदैछ।