एसपी कोइरालाको नेतृत्वमा भोजपुरका विद्यालयमा इ–लर्निङ सेन्टर स्थापना

...

भोजपुर । पूर्वअर्थमन्त्री तथा वरिष्ठ गीतकार शंकरप्रसाद (एसपी) कोइरालाको नेतृत्वमा भोजपुरका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर’ स्थापना गरिएको छ। काठमाडौंस्थित ईश्वर मन्दिर नामक संस्थाको सहयोगमा सञ्चालन भएको अभियानअन्तर्गत नगरपालिका–९ काफ्लेस्थित जनकल्याण आधारभूत विद्यालयमा १० कम्प्युटर सेट र एक स्मार्ट टिभीसहित इ–लर्निङ सुविधा उपलब्ध गराइएको हो।

विद्यालयलाई पूर्वअर्थमन्त्री कोइरालाले प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षमार्फत हस्तान्तरण गरे। प्रविधि–केन्द्रित शिक्षालाई ग्रामीण क्षेत्रमा विस्तार गर्ने उद्धेश्य राख्दै कोइरालाले वर्षेनी यस्ता सहयोग गर्दै आएको बताए।

यस अवसरमा विद्यालयका संस्थापक कल्याण कोइरालाका छोरा गीतकार रमेश कोइरालाले एक लाख ११ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्दै छात्रवृत्ति सुरु गरेका छन्। विद्यालयको ६९औँ वार्षिकोत्सवकै दिन सेन्टर शुभारम्भ भएको प्रधानाध्यापक योगराज लुइटेलले जनाए।

ई–लर्निङ अभियान काफ्लेमा मात्र सीमित छैन। संस्थाले त्रिभुवन धर्मोदय मावि, भोजपुर बहुमुखी क्याम्पस, सरस्वती आधारभूत, आदर्श शिशु विद्यालय, सगरमाथा मावि, अरुण मावि लगायत जिल्लाका दर्जनभन्दा बढी शैक्षिक संस्थामा पनि सेन्टर स्थापना गरिसकेको छ।

संस्थाका अध्यक्ष प्रमेश केशीले ‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ अभियानमार्फत सामुदायिक विद्यालयको शैक्षिक सुधारमा सहयोग भइरहेको बताए भने महासचिव संकेत कोइरालाले यो अभियान अन्य क्षेत्रमा पनि विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए।