‘मिरमिरे’को टाइटल गीतमार्फत खुल्दै प्रेम, परिवार र द्वन्द्वको कथा

...

काठमाडौँ । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ले टाइटल गीत सार्वजनिक गर्दै कथाको भावनात्मक र प्रेमिल पक्ष दर्शकमाझ ल्याएको छ । ‘मिरमिरे भो’ बोलको गीतले चलचित्रको कथावस्तु, पात्रको मनोदशा र सम्बन्धको जटिलतालाई संकेत गरेको छ ।

गीतमा गायक प्रकाश सपूत र गायिका मेलिना राईको स्वर छ । शब्द र संगीत पनि प्रकाश सपूतकै रहेको यो गीत सरल प्रेम, पहिलो आकर्षण र सुन्दरताप्रतिको मोहित भावनालाई केन्द्रमा राखेर तयार गरिएको छ । युवक र युवतीबीचको आँखाको भाषा, मनमा पलाएको प्रेम र त्यसले सिर्जना गर्ने भावनात्मक तरंग गीतका शब्द र संगीतमा स्पष्ट सुन्न सकिन्छ ।

टाइटल गीतको भिडियोले भने चलचित्रको कथा अझै गहिरो बनाएको छ । भिडियोमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखुबीचको त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ । सिर्जनाको सुन्दरतामा मोहित भएका दुई पात्रबीचको भावनात्मक द्वन्द्वले चलचित्रमा प्रेम मात्र होइन, टकराव र असमझदारी पनि रहने संकेत गर्छ ।

गीतले ‘मिरमिरे’ केवल प्रेमकथा मात्र नभई सम्बन्धको जटिलता र निर्णयको असरलाई पनि उठान गर्ने चलचित्र हुने संकेत दिएको छ । यसअघि सार्वजनिक टिजरमा देखिएको बाबा–छोरीबीचको भावनात्मक सम्बन्ध र तीन मुख्य पात्रबीचको नोकझोकले पनि कथाको गहिराइलाई थप पुष्टि गरेको थियो ।

चलचित्रमा दयाहाङ राई बुवाको भूमिकामा देखिएका छन् भने उनकी छोरीको भूमिका बाल कलाकार शाइसा गौचनले निभाएकी छन् । बाबु–छोरीको सम्बन्ध, प्रेम र व्यक्तिगत द्वन्द्व एकसाथ गुज्रिएको कथा ‘मिरमिरे’को मुख्य आधार बन्ने देखिन्छ ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको चलचित्रका सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन् । कार्यकारी निर्माताको जिम्मेवारी आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेलले सम्हालेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

माघ १ गतेबाट प्रदर्शनमा आउने ‘मिरमिरे’ले प्रेम, परिवार र जीवनका छनोटबीचको द्वन्द्वलाई फरक शैलीमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।