पढाइ र आत्मविश्वासको कथा बोकेको ‘गोबर गणेश’को गीत सार्वजनिक

...

काठमाडौँ । आउँदो माघ १ गते प्रदर्शनमा आउने चलचित्र ‘गोबर गणेश’ ले आफ्नै शीर्ष गीत सार्वजनिक गर्दै दर्शकमाझ फरक सन्देश दिन खोजेको छ। रमाइलो र क्याची शैलीमा तयार पारिएको ‘गोबर गणेश’ बोलको गीतले हाँसोभित्र लुकेको गम्भीर यथार्थलाई प्रस्तुत गरेको छ।

गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ भने शब्द तथा संगीत बाबुल गिरीको रहेको छ। गीतले सबै कुरामा सक्षम देखिने व्यक्ति पढाइमा कमजोर हुँदा त्यसले आत्मविश्वास, सोच र समाजसँगको सम्बन्धमा पार्ने प्रभावलाई सरल तर प्रभावकारी ढंगले देखाउने प्रयास गरेको छ।

गीतको भिडियो, शब्द र संगीतले चलचित्रको कमेडी बेस स्पष्ट गर्छ। तर, हाँसोसँगै पढाइ कमजोर हुँदा व्यक्ति कसरी समाज र साथीभाइको नजरमा कमजोर ठहरिन्छ भन्ने पक्षलाई पनि गीतले उठान गरेको छ। यसले मनोरञ्जनसँगै सन्देश दिन खोजेको देखिन्छ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा मरिचमान श्रेष्ठ केन्द्रमा छन्। उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माको उपस्थिति पनि उल्लेख्य छ। गीतले चलचित्रको कथा र प्रस्तुति शैलीको झल्को दिन्छ, जसले दर्शकमा उत्सुकता बढाएको छ।

मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को निर्देशनमा बनेको चलचित्र ‘गोबर गणेश’ छायांकन सकाएर अहिले पोस्ट–प्रोडक्सन चरणमा रहेको छ। बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा मरिचमान र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रमा तारानाथ न्यौपाने चिफ एडी, योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहेको छ। टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने नेपालभित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।