काठमाडौं । टिकटकलाई केवल मनोरञ्जनको माध्यममा सीमित नराखी प्रतिभा पहिचान र करियर निर्माणको प्लेटफर्मका रूपमा स्थापित गर्ने उद्देश्यसहित डिजिटल रियालिटी शो ‘स्टेज फर आइडल’ सुरु गरिएको छ। “द सिक्स आइज वान” को आयोजनामा सुरु भएको यो प्रतियोगिताले विश्वभर छरिएर रहेका नेपाली भाषिक समुदायका गायन र नृत्य प्रतिभालाई एउटै डिजिटल मञ्चमा जोड्ने प्रयास गरेको छ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे औपचारिक जानकारी दिइयो। डिजिटल अडिसनमार्फत सहभागी भएका १८० प्रतियोगीमध्ये गायनतर्फ ४० र नृत्यतर्फ २० जना प्रतिस्पर्धी लाइभ राउण्डका लागि छनोट भइसकेको कार्यक्रम निर्देशक सुविला लामाले जानकारी दिइन्। भौगोलिक सीमाभन्दा बाहिर बसेका प्रतिभाले पनि सजिलै सहभागिता जनाउन सक्ने संरचनाले ‘स्टेज फर आइडल’लाई फरक र समावेशी बनाएको उनको भनाइ छ।
गायनतर्फ वरिष्ठ गायक शम्भु राई र नृत्यतर्फ वरिष्ठ नृत्य निर्देशक कमल राई मुख्य जजको भूमिकामा रहनेछन्। टिकटकमै सञ्चालन हुने अन्य प्रतियोगिताभन्दा फरक ढंगले ‘स्टेज फर आइडल’लाई गुणस्तरीय र निष्पक्ष प्रतिस्पर्धाको रूपमा स्थापित गर्ने आयोजकको दाबी छ।
प्रतियोगितामा भोटिङ प्रणाली नराखिनु यसको अर्को विशेषता हो। आर्थिक पहुँचका कारण मात्र अघि बढ्ने प्रवृत्तिलाई रोक्दै वास्तविक प्रतिभाको मूल्याङ्कन जजहरूको आधारमा गरिने आयोजकले स्पष्ट पारेका छन्। यसले डिजिटल प्रतियोगितामा देखिने ‘लोकप्रियता बनाम प्रतिभा’को बहसलाई पनि नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

गायन र नृत्यतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक लाख, ५० हजार र ३० हजार नगद पुरस्कारसहित सम्मान प्राप्त गर्नेछन्। शीर्ष विजेताले गीत रेकर्ड, सोही गीतको म्युजिक भिडियोमा डेब्यू तथा मोडलिङको अवसरसमेत पाउनेछन्, जसले प्रतियोगितालाई पुरस्कारभन्दा पनि करियर ब्रेकको अवसर बनाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै जज शम्भु राईले टिकटकलाई सिर्जनशीलता र प्रतिभा प्रस्फुटनको प्रभावकारी माध्यम बनाउन सकिने उदाहरण ‘स्टेज फर आइडल’ बन्ने विश्वास व्यक्त गरे। नृत्य निर्देशक कमल राईले भौतिक रूपमा उपस्थित नभएरै पनि प्रतिभा पहिचान र मूल्याङ्कन सम्भव हुने भएकाले आफू यस कार्यक्रममा जोडिएको बताए।
निर्देशक टोलीमा सुविला लामासहित बन्दना जी। मोमिन, मनोज गुरुङ, राम कैलाश थापा, निमा तामाङ, डिबी तामाङ र डोलबहादुर थापा रहेका छन्। सामाजिक सेवामा सक्रिय आयोजक टोलीले विश्वभर रहेका नेपाली प्रतिभालाई एउटै डिजिटल छानामुनि ल्याउने उदाहरणीय प्रयास गरेको उल्लेख गरिएको छ।
‘स्टेज फर आइडल’ आफ्नै फेसबुक पेज, टिकटक र युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुनेछ। छिट्टै सिजन–२ ल्याउने तयारी भइरहेको जनाउँदै निर्देशक लामाले विशेषगरी १८ वर्षमाथिका नयाँ र लुकेर बसेका प्रतिभालाई सहभागिताका लागि आव्हान गरेकी छन्।
दि साइनिङ स्टार टाइटल स्पोन्सर रहेको कार्यक्रममा सोल्टिनी ग्रुप, मङ्गल तामाङ, गोर्खा ब्रदर्श, सरिता गुरुङ, नवीन थापा, टङ्क गुरुङ, अनु बान्तवा राई, नेहा गुरुङ, बिमला हेयर एण्ड सैलुन, युके तथा दुई हिडन स्पोन्सरको साथ छ। आर्थिक सहयोगतर्फ कृष्टियन टिकट लाइभ ट्यालेन्ट शोकी सुर्जा थापाको योगदान रहेको छ। टिकटकमै लाइभ हुने कार्यक्रममा डोल्मा तामाङ (अम्लोड) सहित विभिन्न मोडियटरहरू रहने आयोजकले बताएका छन्।






१४ पुष २०८२, सोमबार १४:५५ 








