काठमाडौँ । फागुन १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को टिजर सार्वजनिक भएको दुई दिन पूरा भइसकेको छ। सार्वजनिक भएलगत्तै टिजरले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ। फरक विषयवस्तु, बलियो मेकिङ र प्रभावशाली संवादका कारण ‘कल्ली’ अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ।
टिजर हेरेका दर्शकहरूले सामाजिक सञ्जालमा “यो फिल्म हेर्न त हलसम्मै जानुपर्ला” भन्दै प्रतिक्रिया जनाइरहेका छन्। युट्युबमा मात्र टिजर झण्डै ४ लाख पटक हेरिइसकेको छ, जसले फिल्मप्रति दर्शकको चासो बढ्दो रहेको संकेत गर्छ।
किरण नेपालीको निर्माणमा तयार भएको यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। निर्देशक सुनारकै कथामा आधारित फिल्मको पटकथा महेश दवाडीले लेखेका छन्। ‘कल्ली’ले भगवान् र राक्षसको कथालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै मानिसको मनभित्र चल्ने देवता र राक्षसबीचको द्वन्द्वलाई उठान गरेको छ। मानिसभित्रको देवताले परिश्रम, मिहिनेत र इमानको भाव बोकेको हुन्छ भने राक्षसले लोभ, लालच र मोहको प्रतिनिधित्व गर्छ। मानिसले आफ्नो मनभित्रको देवतालाई दबाएर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितिलाई फिल्मले कथाको केन्द्रमा राखेको छ।
फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका रहेको छ। बाल कलाकारका रूपमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा देखिएका छन्। टिजरको अन्त्यतिर नायिका परिक्षा लिम्बुको उपस्थितिलाई सरप्राइज प्याकेजका रूपमा राखिएको छ।
निसाल पौडेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत तथा एनबी महर्जनको एक्सनले फिल्मको प्राविधिक पक्षलाई बलियो बनाएको देखिन्छ। सुरज आचार्य निर्माण प्रमुख रहेका छन्।
लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘कल्ली’को टिजरले पाएको सकारात्मक प्रतिक्रियाले यसको प्रदर्शनप्रति अपेक्षा अझ बढाएको छ। टिजरमै देखिएको सशक्त प्रस्तुति र भावनात्मक द्वन्द्वले दर्शकलाई हलसम्म तान्ने आधार तयार भएको देखिन्छ।






१४ पुष २०८२, सोमबार १५:०४ 








