काठमाडौं । माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिरमिरे’ मार्फत अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना निङलेखुको अनस्क्रिन जोडी पुनः दोहोरिँदैछ। यसअघि यही जोडी चलचित्र ‘कार्साङ्’ मा देखिएको थियो, जसलाई दर्शकले मन पराएका थिए। सोही सफल सहकार्यपछि उनीहरू फेरि ‘मिरमिरे’मा एकसाथ देखिन लागेका हुन्।
संयोग के छ भने ‘कार्साङ्’ निर्देशन गरेका निर्देशक यम शेर्पा ले नै ‘मिरमिरे’ पनि निर्देशन गरेका छन्। निर्देशक र मुख्य कलाकारहरूबीचको आपसी समझदारी र विश्वासकै कारण यो त्रिकोणात्मक सहकार्य दोहोरिएको निर्देशक यम बताउँछन्।
दयाहाङ र सिर्जनालाई फेरि किन रोज्नुभयो भन्ने प्रश्नमा यम शेर्पा भन्छन्, “एकपटक सँगै काम गरिसकेपछि त्यसपछि काम गर्न धेरै सहज हुन्छ। कलाकारको काम गर्ने शैली, अनुशासन र स्वभाव बुझिसकिएको हुन्छ। दयाहाङ त दर्शकले अत्यन्त रुचाएको लोकप्रिय नायक हुनुहुन्छ। सिर्जनासँग पनि पहिले नै काम गरिसकेकोले सहजताको हिसाबले नै दोहोर्याएको हुँ।”
उनका अनुसार चलचित्रको कथाले माग गर्ने पात्रको स्वरूप पनि दयाहाङ र सिर्जनासँग मिल्दोजुल्दो भएकाले स्क्रिप्ट लेख्ने क्रममा नै यी दुई कलाकार दिमागमा थिए। कथाको आवश्यकता र अघिल्लो सहकार्यको अनुभवले ‘मिरमिरे’मा पनि उनीहरूलाई मुख्य भूमिकामा राखिएको निर्देशक यमको भनाइ छ।

यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको ‘मिरमिरे’मा दयाहाङ र सिर्जनासँगै प्रकाश सपूत पनि प्रमुख भूमिकामा छन्। दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो। चलचित्रमा शाइसा गौचन दयाहाङकी छोरीको भूमिकामा देखिनेछिन्।
केही समयअघि सार्वजनिक गरिएको टिजरले छोरीका लागि बाबुले गर्ने संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। आमाले घर छोडेपछि छोरी र बाबुबीचको सम्बन्ध, बाबुले एक्लै छोरीको स्याहार, घरधन्दा, स्कुल र आफ्नो काम कसरी सन्तुलनमा राख्छन् भन्ने कथा चलचित्रको मुख्य भाव हो। छोरीप्रतिको बाबुको जिम्मेवारी, त्याग र माया नै ‘मिरमिरे’को केन्द्रमा रहेको निर्माण टिम बताउँछ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ, प्रकाश, सिर्जना र शाइसासँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ। चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् भने सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर रहेका छन्। कार्यकारी निर्माताको जिम्मेवारी आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेलले सम्हालेका छन्।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्। चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।






१४ पुष २०८२, सोमबार १५:१८ 








