काठमाडौं । चलचित्र ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माणपक्षले काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत ट्रेलर दर्शकमाझ ल्याएको हो।
सार्वजनिक ट्रेलरले पढाइमा कमजोर भएपछि गाउँ छोडेर काठमाडौं छिरेको एक युवाको संघर्षपूर्ण जीवनकथालाई चित्रण गरेको छ। गाउँमा बस्दा देखिएका सपनाहरू राजधानी आइपुग्दा कसरी यथार्थसँग ठोक्किन्छन् भन्ने विषयलाई ट्रेलरले प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।
काठमाडौं आएपछि सहज जीवनको कल्पना गरेको युवकले अन्ततः फोहोर संकलनजस्तो कठिन पेशा रोज्नुपर्ने बाध्यता भोग्छ। आफ्नो जीवन परिवर्तन गर्ने आशामा गरिएको संघर्ष, सहरको कठोर यथार्थ र त्यसले परिवारको सपनामाथि पार्ने प्रभाव ट्रेलरमा स्पष्ट देखिन्छ।
गाउँमा आमाबुवाको मायामा हुर्किएको छोरो सहरमा आफ्नै पसिनाले बाँच्नुपर्ने अवस्थासम्म आइपुग्दा भोग्नुपरेका पीडा, आमाले छोरोको दयनीय अवस्था थाहा पाउँदाको भावुक क्षण र गाउँबाट सहर पस्दा देखिएको सपना काठमाडौंमै आएर कसरी टुट्छ भन्ने कथा ट्रेलरको मुख्य भाव बनेको छ। यसले आम नेपाली युवाको सहरमुखी संघर्षलाई प्रतिनिधित्व गर्छ।
यसअघि निर्माणपक्षले चलचित्रको शीर्ष गीत सार्वजनिक गरिसकेको छ, जसमा मरिचमान श्रेष्ठको स्वर रहेको छ। चलचित्र ‘गोबर गणेश’ माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। फिल्मलाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले निर्देशन गरेका हुन्।
बल्छी धुर्बे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा मरिचमान श्रेष्ठ र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछानेलगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रमा तारानाथ न्यौपाने चिफ एडिटर, योगेश काजी शाहको ब्याकग्राउण्ड म्युजिक, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ।
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो भने नेपालभर वितरणको जिम्मा श्री ब्याकटेस इन्टरटेनमेन्टले लिएको छ।






१९ पुष २०८२, शनिबार ११:२५ 










