‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा रेकर्ड

...

काठमाडौँ । विपना थापा र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘आ बाट आमा’ मा समावेश चर्चित गीत ‘लैजा खबर ए हावा’ लाई नेवारी भाषामा पनि रेकर्ड गरिएको छ। निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्दै उक्त गीतको नेवारी संस्करण तयार गराएका हुन्।

नेवारी भर्सन गायक यमन श्रेष्ठले गाएका छन्। बाबुल गिरीको शब्द रचना रहेको यस गीतलाई नेवारीमा गाउन पाउँदा निकै खुशी लागेको यमनले बताए। उनले गीतको नेवारी शब्द आफ्ना बुबा मदनकृष्ण श्रेष्ठसँगको सहकार्यमा तयार गरिएको जानकारी दिए। गीत रेकर्डका क्रममा आफू पनि भावुक बनेको यमनको भनाइ छ।

नेपाली भाषामा भने यस गीतलाई गायक रवि ओडले गाएका छन्। आफ्ना सन्तान परदेशिँदा नेपालमा रहेका बाबुआमाको भावनालाई केन्द्रमा राखेर गीत तथा फिल्मको कथा बुनिएको छ। निर्देशक पन्तले प्रचारलाई फरक ढंगले प्रस्तुत गर्न नेवारीसहित अन्य भाषामा पनि गीत रेकर्ड गर्ने तयारी भइरहेको बताए।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्ममा विपना थापा, पल शाहसँगै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीको अभिनय छ। चन्द्र पन्तकै कथा–पटकथा रहेको फिल्ममा संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ। हाल फिल्मको प्रचारप्रसार तीव्र रूपमा भइरहेको निर्माण टिमले जनाएको छ।