‘बिगुल’को ट्रेलर सार्वजनिक, राजनीतिक विकृति विरुद्धको कडा आवाज

...

काठमाडौं । समाजमा व्याप्त राजनीतिक बेथिति, अन्याय र नागरिकको पीडालाई पर्दामा उतारिएको नेपाली चलचित्रबिगुलको ट्रेलर आइतबार सार्वजनिक गरिएको छ। निर्देशक रमेश कोइरालाको निर्देशनमा बनेको यस चलचित्रको करिब तीन मिनेट लामो ट्रेलरले समसामयिक राजनीति र सामाजिक यथार्थलाई तीव्र रूपमा प्रस्तुत गरेको छ।

ट्रेलरमा राजनीतिक स्वार्थ, नेतृत्वको गैरजिम्मेवारी, सामाजिक असमानता, परिवारभित्रका द्वन्द्व तथा पुस्ताबीचको विचार संघर्षलाई केन्द्रीय विषय बनाइएको छ। पटकपटक जनतालाई धोका दिँदै आएको राजनीतिक नेतृत्व र त्यसविरुद्ध आवाज उठाउने युवा पुस्ताबीचको टकराव चलचित्रको मुख्य धुरीका रूपमा देखिन्छ।

आसन्न आम निर्वाचनको पृष्ठभूमिमा तयार गरिएकोबिगुलले सही नेतृत्व चयनप्रति दर्शकलाई सोच्न बाध्य बनाउने संकेत ट्रेलरमै दिन्छ। विशेष गरी निमुखा जनतामाथि भइरहेको राजनीतिक खेलबाडलाई चलचित्रले सशक्त ढंगले उठान गरेको देखिन्छ।

ट्रेलरमा अभिनेत्री बेनीशा हमाल, अभिनेता नरेन खड्का र विनोद न्यौपानेले युवापुस्ताको आक्रोश र अपेक्षालाई प्रभावकारी रूपमा व्यक्त गरेका छन्।

दिनेश कोइरालाको कथा तथा निर्माण रहेको चलचित्रमा कल्पना पौडेल प्रस्तुतकर्ताको रूपमा छन् भने सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्मातामा छन्। फिल्ममा बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी र मानश्री शर्मासँगै रविन्द्र खड्काको विशेष भूमिका रहेको छ। नवअभिनेत्री मिरा पण्डितले यस चलचित्रमार्फत डेब्यु गरेकी छन्।

शिव ढकालको छायांकन, तारा थापाकिम्भेको सम्पादन रहेकोबिगुलका गीतमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत समावेश छ। साथै फिल्ममा पटकथा, संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठको छ ।

यसअघि सार्वजनिक फस्टलुक पोस्टर, टिजर र गीतबाटै चर्चा कमाएकोबिगुलमाघ ९ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ। मनोरञ्जनसँगै सामाजिक चेतना फैलाउने उद्देश्य बोकेको यो चलचित्रले दर्शकमाझ गहिरो प्रभाव छोड्ने विश्वास निर्देशक कोइरालाले व्यक्त गरेका छन्।