काठमाडौँ । डिजिटल प्रविधिले दैनिकीलाई झन् सहज र सरल बनाइरहेका बेला नेपाली बजारमा नयाँ र उपयोगी एप ‘द निम्तो’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। अब घरमै बस्दै विवाह, भोज, पार्टी, कर्पोरेट कार्यक्रमलगायत विभिन्न इभेन्टका लागि आवश्यक भेन्यु, फोटोग्राफर, मेकअप आर्टिस्ट, डिजे, डेकोरेशन तथा मेहन्दीजस्ता सेवा एपमार्फतै सजिलै बुक गर्न सकिने सुविधा उपलब्ध भएको छ।
आइतबार काठमाडौंको बबरमहलस्थित हिमालयन जाभामा आयोजित एक विशेष कार्यक्रममार्फत एपका फिचर र सुविधाबारे जानकारी गराइएको हो। कार्यक्रममा द निम्तोका निर्देशक प्रसन्न राज अर्याल ले एप विगत दुई वर्षदेखि परीक्षण तथा प्रयोगको चरणमा रहे पनि अहिले औपचारिक रूपमा सार्वजनिक गरिएको जानकारी दिए। उनका अनुसार हालसम्म ५० हजारभन्दा बढी प्रयोगकर्ताले सेवा लिइसकेका छन् भने २०० भन्दा बढी बुकिङ सफलतापूर्वक सम्पन्न भइसकेका छन्। साथै, एपमा एक हजारभन्दा बढी इभेन्ट सेवा प्रदायक आबद्ध छन्।

निर्देशक अर्यालले यो उपलब्धि कुनै एक व्यक्तिको मात्र नभई सम्पूर्ण टिमको मेहनत, धैर्य र सामूहिक विश्वासको परिणाम भएको उल्लेख गरे। उनले नेपालमै बसेर, नेपालकै सम्भावनालाई उपयोग गर्दै कानुनी, पारदर्शी र जिम्मेवार ढंगले यस्तो डिजिटल पहल अघि बढाइएको बताए। विदेश जाने सोच त्यागेर सुरु गरिएको ‘द निम्तो’ ले आज प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सयौं व्यक्तिलाई रोजगारीको अवसर दिएको उनले बताए।
प्रयोगकर्ताको सुविधा झन् बढाउन एपमा आफूले रोजेको भेन्युको ३६० डिग्री भर्चुअल टुर हेर्न मिल्ने नयाँ फिचरसमेत समावेश गरिएको छ। आगामी दिनमा कार रेन्टल, बग्गी सेवा, पण्डित तथा ज्योतिषी सेवा पनि थप गर्ने तयारी भइरहेको जानकारी दिइएको छ।
‘द निम्तो’ एप हाल आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ, जसले इभेन्ट आयोजना गर्ने झन्झटलाई अब केही क्लिकमै समाधान गर्ने विश्वास लिइएको छ।






२० पुष २०८२, आईतवार १८:५४ 










