काठमाडौं । माघ १ गते माघे संक्रान्तिको अवसर पारेर बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को मंगलबार साँझ काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा भव्य प्रिमियर शो सम्पन्न भएको छ।
प्रिमियर शोमा मुख्य कलाकार सौगात मल्ल, सृष्टि श्रेष्ठ, पूजा शर्मा, सिसन बानियाँ र जयकिशन बस्नेतसहित कलाकार, सेलिब्रेटी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सृष्टि श्रेष्ठ नेवारी पोशाकमा र सौगात मल्ल नेपाली राष्ट्रिय पोशाक दौरा–सुरुवालमा देखिएका थिए। निर्देशक निगम श्रेष्ठ, निर्माता ऋमित श्रेष्ठ, महेश लामिछाने र सह–निर्माता शुभेच्छा पौडेल पनि प्रिमियरमा उपस्थित थिए।
सिनेमा हेरेर निस्केका अधिकांश पाहुनाले निर्देशक निगम श्रेष्ठको निर्देशन, साथै सौगात मल्ल र सृष्टि श्रेष्ठको अभिनयको खुलेर प्रशंसा गरेका थिए। सामाजिक सञ्जालमा भाइरल बन्ने प्रवृत्तिमाथि व्यंग्य गर्दै त्यसको असर र प्रभावको कथा बोलेको भन्दै ‘भाइरल गोर्खे’ सबै दर्शकले हेर्नुपर्ने सिनेमा बनेको प्रतिक्रिया आएको थियो।

अभिनेत्री पूजा शर्माले सिनेमालाई मनोरञ्जनसँगै सन्देशमूलक बताइन्। त्यस्तै, भ्लगर तथा मोडल सिसन बानियाँले पनि पछिल्लो समयको भाइरल संस्कृतिलाई नयाँ ढंगले प्रस्तुत गरिएको भन्दै दर्शकलाई हलमा गएर हेर्न सिफारिस गरे।
प्रिमियरबाट पाएको सकारात्मक प्रतिक्रियाले अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ उत्साहित देखिएका थिए। निर्देशक निगम श्रेष्ठले पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरे। मंगलबारदेखि नै देशभरका मल्टिप्लेक्स र सिंगल स्क्रिन हलमा सिनेमाको अग्रिम टिकट बुकिङ खुला गरिएको छ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको ‘भाइरल गोर्खे’ मा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीको पनि अभिनय छ। अमर महर्जनको सिनेमाटोग्राफी रहेको यो सिनेमा लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा छायांकन गरिएको हो।







३० पुष २०८२, बुधबार १२:२३ 











