म्युजिक नेपालद्वारा ३२.१ डल्बी एट्मस स्टुडियो सञ्चालन, अब हलिउडकै गुणस्तर नेपालमै

...

काठमाडौं । नेपाली फिल्म तथा संगीत क्षेत्रको प्राविधिक स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउने उद्देश्यसहित म्युजिक नेपालले मुलुककै पहिलो डल्बी एट्मस (Dolby Atmos) सर्टिफाइड पोस्टप्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ । करिब १० करोड रुपैयाँको लगानीमा गौशालास्थित पिंगलास्थानमा निर्माण गरिएको यो स्टुडियो शुक्रबार औपचारिक रूपमा शुभारम्भ गरिएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथि, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य विशिष्ट अतिथि तथा म्युजिक नेपालका प्रमुख सन्तोष शर्माको उपस्थितिमा **‘म्युजिक नेपाल अडियो भिजुअल’**को उद्घाटन गरिएको हो । शनिबारदेखि स्टुडियो पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

डल्बीबाट सर्टिफाइड यो स्टुडियो ३२.१ डल्बी एट्मस कन्फिगरेसनमा आधारित छ, जसमा ३२ स्पिकर च्यानल र १ सबवुफर समावेश छन् । यस प्रविधिले आवाजलाई त्रिआयामिक (3D) अनुभूति दिलाउने भएकाले दर्शकले हलिउड र बलिउडकै स्तरको इमर्सिभ साउन्ड अनुभव गर्न सक्नेछन् । यो दक्षिण एसियामा भारतपछि डल्बीले विस्तार गरेको पहिलो ठूलो परियोजना समेत हो ।

स्टुडियो सेटअपका लागि बलिउडका वरिष्ठ साउन्ड इन्जिनियर दमन सुद, डल्बी भारतका निर्देशक समीर सेठ र डल्बी सर्टिफाइड इन्जिनियर भरत रेड्डी काठमाडौं आएका थिए । सुदले यो स्टुडियोलाई भविष्यलाई लक्षित अत्याधुनिक परियोजना भन्दै नेपाली फिल्म र संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने क्षमता रहेको बताए ।

नेपाली मौलिकता झल्काउन स्टुडियोका कक्षहरू सगरमाथा, मनास्लु, अन्नपूर्ण, ल्होत्से, धौलागिरी र डाँफे जस्ता नामबाट नामकरण गरिएको छ । यहाँ साउन्ड मिक्सिङ, रेकर्डिङ, एडिटिङ, डीआई र सम्पूर्ण पोस्टप्रोडक्सन कार्य हुने जनाइएको छ ।

नेपाली फिल्मकर्मीलाई प्रोत्साहनस्वरूप पहिलो ३ बुकिङलाई ५० प्रतिशत र जनवरी ३१ सम्म सेवा लिने सबैलाई २५ प्रतिशत छुट दिने घोषणा गरिएको छ । साथै, डल्बी इन्जिनियर भरत रेड्डीले नेपाली साउन्ड इन्जिनियरलाई विशेष तालिम दिइसकेकाले अब पोस्टप्रोडक्सनका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ ।