काठमाडौं । डेब्यु निर्देशक सुदिप्ताको सिनेमा ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरले प्रेम, विश्वास र धोका हुँदै ब्रेकअपपछि एउटी युवतीको मानसिक अवस्थालाई केन्द्रमा राख्दै कथा प्रस्तुत गरेको छ । सार्वजनिक ट्रेलरले भावनात्मक उतार–चढाव, सम्बन्धको चिरफार र पात्रहरूको द्वन्द्वमार्फत दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिन्छ ।
ट्रेलर सार्वजनिक गर्दै निर्देशक सुदिप्ताले ‘रमिताको पिरती’लाई परम्परागत लभस्टोरीभन्दा फरक ब्रेकअप स्टोरीका रूपमा चिनाउन चाहेको बताइन् । उनले नेपाली सिनेमामा प्रायः पुरुष पात्रको दृष्टिकोणबाट प्रेमकथा भनिँदै आएको उल्लेख गर्दै यसपटक महिलाको परिप्रेक्ष्यबाट कथा भनिएकाले दर्शकले नयाँ अनुभूति पाउने दाबी गरिन् । ब्रेकअपपछि एउटी केटीले भोग्ने मनोविज्ञान, पीडा र आत्मसंघर्षलाई फरक ढंगले प्रस्तुत गरिएको ट्रेलरमा देख्न सकिन्छ ।
ट्रेलरमा आना शर्मा केन्द्रमा देखिएकी छन् । उनले पात्रमा ढल्न निर्देशकसँग लामो समय तयारी गरेको उल्लेख गर्दै ट्रेलरले फिल्मको भावनात्मक टोन स्पष्ट रूपमा स्थापित गरेको प्रतिक्रिया दिइन् । धीरज मगरले पनि ट्रेलरमार्फत महिला पात्र केन्द्रित कथामा आफू फरक अवतारमा देखिएको बताउँदै दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे ।
आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउने ‘रमिताको पिरती’मा गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गरेका छन्, जसको झलक पनि ट्रेलरमा समेटिएको छ । सेरो फिल्मस्को प्रस्तुतिमा बनेको सिनेमामा आना शर्मा, समीर श्रेष्ठ, धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना र थिन्ले लामालगायतको अभिनय रहेको छ ।
ट्रेलरमा देखिएको संगीत पक्ष पनि आकर्षक देखिन्छ । सिनेमामा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ । शिशिर विशंखेको छायांकन, सुनिल शिवभक्तिको सम्पादन, कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी रहेको फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले तथा उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछन् ।
सार्वजनिक ट्रेलरले नै ‘रमिताको पिरती’लाई संवेदनशील ब्रेकअप स्टोरीका रूपमा स्थापित गर्दै प्रदर्शनअघि नै चर्चा बटुल्न थालेको छ ।







११ माघ २०८२, आईतवार १७:४७ 











