काठमाडौं । रंगमञ्च र चलचित्रमा सशक्त अभिनयबाट परिचित अभिनेता विजय बरालले गायनमा डेब्यु गरेका छन्। उनले ‘विधिको शासन’ बोलको गीतमार्फत पहिलोपटक स्वर दिएका हुन्, जुन मनोरञ्जनसँगै समसामयिक राजनीतिक व्यवस्थामाथिको व्यङ्ग्य र खबरदारीका रूपमा आएको छ।
शौरभ कार्कीको शब्द रचना र प्रशान्त शिवाकोटीको संगीत रहेको गीतले देशको वर्तमान राजनीतिक अवस्था चित्रण गरेको छ। विशेषतः भदौ २३ र २४ गते काठमाडौंमा भएको ‘जेनजी’ आन्दोलन र त्यसले उठाएका मुद्दाहरू गीतको मुख्य मर्म बनेका छन्। व्यक्ति विशेषभन्दा पनि पद्धति र विधिको शासन आवश्यक हुने सन्देश गीतले प्रवाह गरेको छ।
आफ्नो पहिलो गायन अनुभवबारे विजय बरालले यो गीत सत्ता र प्रणालीप्रतिको सटायर भएको बताएका छन्। गीतको भिडियो मनिष राउतको कन्सेप्टमा तयार पारिएको छ, जसमा २०४० सालदेखि २०६२/६३ को आन्दोलन र पछिल्लो जेनजी आन्दोलनसम्मका वास्तविक दृश्यहरू समेटिएका छन्।
उता, अभिनयतर्फ विजय बराल हाल निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’मा अनुबन्ध भएका छन्। फिल्ममा उनको जोडी अभिनेत्री अञ्जना बराइलीसँग बाँधिएको छ। यसअघि यी कलाकारहरूले सरोज पौडेलकै निर्देशनमा बनेको ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए।







१२ माघ २०८२, सोमबार ११:०४ 











