काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिवांश : च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ। अञ्जन सिनेमा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रको ट्रेलरमा शिवको भेषमा गरिने आपराधिक गतिविधि, तान्त्रिक अभ्यास र रहस्यमयी शक्तिको कथा प्रस्तुत गरिएको छ।
ट्रेलरले बाहिरबाट साधु–सन्तको भेषमा देखिने पात्रभित्र लुकेको क्रुर मानसिकता र जघन्य अपराधलाई उजागर गर्दै पौराणिक हिन्दु मान्यता र आधुनिक युगको द्वन्द्वलाई रोचक ढंगले देखाएको छ। पौराणिक ‘समुद्र मन्थन’ र दिव्य शिलासँग जोडिएको कथावस्तुले चलचित्र रहस्य, आध्यात्मिक शक्ति र विनाशको वरिपरि घुम्ने संकेत गर्छ।
ट्रेलरको बलियो पक्ष अभिनेता प्रविण खतिवडाको लुक्स र अभिनय रहेको छ, जहाँ उनी शक्तिशाली ‘एन्टी–हिरो’ पात्रका रूपमा प्रस्तुत देखिन्छन्। तेज गिरी, विकास जोशी र रुशा न्यौपानेको भूमिकाले पनि कथालाई थप रहस्यमयी बनाएको छ।
निर्देशक सन्तोष कुमार आत्रेयले चलचित्रलाई फरक शैली र भव्य प्रस्तुतिमा निर्देशन गरेका छन्। छायांकन, पृष्ठभूमि संगीत र भीएफएक्समा पनि विशेष ध्यान दिइएको देखिन्छ। चलचित्रमा भारतीय गायक कैलाश खेरको स्वर तथा संगीत विशेष आकर्षणका रूपमा रहेको छ।
चलचित्रमा प्रविण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुशा न्यौपाने मुख्य भूमिकामा छन्। कथा अञ्जान केसीको, स्क्रिनप्ले बारत लिम्बूको रहेको छ। अञ्जान केसी निर्माता तथा शोभा भण्डारी र अनिस केसी बोगटी सह–निर्माता हुन्।
नेपाली चलचित्र क्षेत्रमा कमै बन्ने पौराणिक विषयवस्तुमा आधारित ‘स्पिरिचुअल एक्शन ड्रामा’ विधामा तयार भएको यस चलचित्रले दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।







२३ माघ २०८२, शुक्रबार १५:४२ 











