काठमाडौँ । आजभन्दा दशक अघि टेलिभिजनको पर्दामा कुनै फिल्म, टेलिसिरियल आउँदा आफू पनि त्यो पर्दामा यसरी नै देखिने पाए भन्ने हुटहुटीले आज उनलाई कलाकार बनाएको छ । उनी हुन् सन्ध्या श्रेष्ठ । सन्ध्या उदाउँदै गरेकी अभिनेत्री हुन् । उनले अहिलेसम्म केहि चलचित्र, टेलिसिरियल र म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।
उमेरले २४ बर्ष पुगेकी सन्ध्याको जन्म रामेछापको खाडादेवी गाउँपालिकामा भएको हो । सानैदेखी कलाकारितामा रुचि राख्ने सन्ध्याले आफ्नो उद्धेश्य कलाकार बन्ने राख्दै आएकी थिइन् तर गाउँमा बसिरहँदा कसरी यो बाटोमा लाग्न सकिन्छ भन्ने थाहा पाएकी थिइनन् । जब आजभन्दा ७ बर्ष अघि काठमाडौं आइन् उनका लागी धेरै बाटोहरु खुलेका थिए । ‘टेलिभिजनको पर्दामा फिल्म भित्र कलाकारलाई देख्थेँ, त्यसरी नै देखिने, अभिनय गर्ने सोँच सानैदेखी राख्थेँ तर सबैकुरा थाहा हुँदैनथ्यो । बिस्तारै ठुलो हुँदै जादा बुझ्दै जाँदा धेरै बाटोहरु खुल्दै गए र आज यहाँसम्म छु ।’ अभिनेत्री सन्ध्याले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन् । ‘कलाकारिताको बाटो धेरै लामो छ, भर्खर यात्रामा हिड्ने बाटो मात्रै भेटेकी छु, मैले यो यात्रा निकै लामो गर्नुछ मलाई थाहा छ ।’
काठमाडौं आइसकेपछि साथी सर्कल बन्दै जाँदा उनले सन् २०१९ मा पहिलो म्युजिक भिडियोका काम गर्ने अवसर पाएकी थिइन् । ‘तिम्रो आँखामा’ बोलको म्युजिक भिडियोका काम गरेकी सन्ध्याले एउटै म्युजिक भिडियोबाट धेरै सिक्ने मौका पाएको बताउँछिन् । उनले त्यसपछि २०२०मा ‘मेरी भाउजु’ नामक टेलिसिरियलमा पनि अभिनय गर्ने मौका पाइन् । यस्तै २०२१मा ‘धेरै देखेँ मुहारहरु’, ‘मुटु दुख्छ आजभोली’, ‘ओ प्रिया’ लगायतका म्युजिक भिडियोमा मोडलिङको अवसर पाइन् । यि कामहरुले उनमा निखारता ल्याउँदै गयो ।
साथै सन्ध्याले म्युजिक भिडियोका काम गर्दै जाँदा केहि सर्ट फिल्ममा पनि काम गर्ने अवसर पाइन् । ५ बर्ष अघि डकुमेन्ट्री फिल्म ‘लंगौटी’मा अभिनय गर्ने अवसर पाउँदा उनी निकै खुसी दिइन् । किनकी उनलाई म्युजिक भिडियोपछि अभिनयमा डकुमेन्ट्री फिल्मले धेरै कुरा सिकाएको थियो । यस्तै पर्खाई शिर्षकको ‘दशैं’ बिशेष सर्ट फिल्ममा पनि त्यो समयमा काम गरिन् ।
साथै गतबर्ष (सन् २०२५) उनले ‘जड्याहा पोई’ शिर्षकको सर्ट फिल्म र सहरिया बुहारी टेलिसिरियलमा समेत काम गरिसकेकी छिन् ।

फिल्ममा अभिनय
अभिनेत्री सन्ध्याले म्युजिक भिडियो, टेलिसिरियलमा काम गर्दै जाँदा चलचित्रमा काम गर्ने चाहना राख्दै आएकी थिइन् । तर चलचित्रमा बिभिन्न अडिसन पारगर्दै छनौट हुने प्रक्रिया हुन्छ, यसैक्रममा अहिले निर्माणधिन चलचित्र ‘जदौ’मा उनले काम गर्ने अवसर पाएकी छिन् । अडिसन मार्फत ‘जदौ’ फिल्ममा प्रवेश गरेकी सन्ध्याले अनुभवी कलाकारहरु निती शाह र मुकुन भुसालसँगै अभिनय गर्ने अवसर पाएकी छिन् । ‘जदौ’लाई काजी लिम्बु र अञ्जन शर्माले संयुक्तरुपमा निर्देशन गरेका छन् ।
यस्तै सन्ध्या अर्को फिल्म ‘बम बिहारी’मा जोडिएकी छिन् । यो फिल्मको छायांकन केहि भइसकेको छ । अहिले भने छायांकन रोकिएको र केहिसमय पछि सुरु हुने बताइएको छ ।







३ फाल्गुन २०८२, आईतवार १८:३७ 










