सुगम र रिताको स्वर रहेको ‘बेहाल’ सार्वजनिक

...

काठमाडौँ । काठमाडौंमा आयोजित कार्यक्रममा रोमान्टिक भावको गीत ‘बेहाल’ सार्वजनिक गरिएको छ। गीतमा भारतको कालिम्पोङ निवासी गीतकार डा. देबेन्द्र प्रधानको शब्द, संगीतकार शंकर थापास्माइलको संगीत तथा गायकगायिका सुगम पोखरेल र रिता केसीको स्वर रहेको छ। गीतको एरेञ्ज विषम आचार्यले गरेका हुन् भने मिक्सिङमाष्टरिङ किशोर थापाको रहेको छ।

गीतको भिडियो केशव राज भट्टले निर्देशन गरेका हुन्। भिडियोमा अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय रहेको छ भने छायांकन मुस्ताङदेखि पोखरासम्म चार दिन लगाएर गरिएको जनाइएको छ।

सार्वजनिक कार्यक्रममा सहभागी सर्जक तथा अतिथिहरूले गीतको शब्द, संगीत, स्वर र भिडियो पक्ष सन्तुलित र प्रभावशाली बनेको प्रतिक्रिया दिएका छन्। गीतकार डा. प्रधानले नेपाली साहित्य तथा गीत लेखनमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै, भावअनुसार संगीत सिर्जना भएकाले संगीतकार शंकर थापास्माइलसँग सहकार्य गरेको बताए।