तिनदिने तालिम दिन काठमाडौं आइपुगे भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित डिओंडी

...

काठमाडौं । भारतका चर्चित भ्वाइस आर्टिष्ट अमित डिओंडी काठमाडौं आइपुगेका छन् । चलचित्र बिकाश बोर्डको आयोजनामा भोलीदेखी तीनदिन चल्ने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङका लागी उनी शनिबार १० बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा ल्याण्ड भएका हुन् ।

पहिलोपटक नेपाल आइपुगेका अमितले बिमानस्थलमा सन्चारकर्मीसँग कुरागर्दै भने, ‘अहिलेको दुनियामा विश्वभरीका कन्टेन्ट सजिलै हेर्न सकिन्छ । त्यसका लागी भाषाको माध्यमले ठुलो भूमिका खेल्छ । नेपाली भाषामा भ्वाइस डबिङको काम गर्नसक्ने धेरै अवसरहरु छन् । यो तीनदिन मेरो अनुभव र मैले जानेका केहि कुरा सिकाउने प्रयास गर्नेछु ।’

चलचित्र बिकाश बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले दक्षता अभिबृद्धि कार्यक्रमलाई अगाडी सारेको र बिभिन्न १४ वटा बिषयमा तालिम राखिएकोमा भ्वाइस एक्टिङलाई पनि बिशेष प्राथमिकता दिइएको बताए । ‘हामीले बोर्डबाट दक्षता अभिबृद्धि भनेर बजेट छुट्टाएरै काम गरिरहेका छौं । यसअघि पनि धेरै तालिम भइसकेका छन् भने भ्वाइस एक्टिङको बिषयमा पनि नेपालमा आवश्यक भएकाले भारतका प्रसिद्ध ब्यक्ति अमित डिओंडीलाई निमन्त्रणा गरेका हौं । उहाँसँग हामीले भ्वाइस एक्टिङका टेक्निकहरु सिक्न सक्छौं ।’ अध्यक्ष डिसीले भने । ‘हामीले केहिसमय अघिमात्रै पनि साउण्ड, डबिङ तालिमका लागी भारतबाटै अनुभवी प्रतिनिधि बोलाएर तालिम दिएका थियौं ।’

Amit Deondi in kathmandu nepal

डिसीका अनुसार बोर्डले ड्रोन ट्रेनिङ, फिल्म लाइट ग्याफर तालिम, मेकअप तालिम, एआई वर्कसप, फोटो तथा भिडियो पत्रकार प्रशिक्षण तालिम तथा पौडी तालिमपनि चैत महिना भित्रै दिदैछ । भोली (आइतबार) बिहान १०ः३० बाट तीनदिनका लागी दैनिक दुईघण्टा चल्ने भ्वाइस एक्टिङ तथा डबिङ ट्रेनिङको ब्यवस्थापनको काम सम्राट फिल्मस्ले गरेको छ । पछिल्लो समय नेपालमा थुप्रै फिल्मको डबिङ तथा साउण्ड मिक्सिङको काम गरिरहेका सम्राट फिल्मस्का सन्चालक भरत कँडेल आफैमा १५ बर्षबढी मुम्बईमा साउण्डमै काम गरेका आएका ब्यक्ति हुन् । विश्वकै चर्चित युट्युवर ‘मिस्टर बिस्ट’को नेपाली भाषामा डबिङको काम पनि सम्राट फिल्मस्ले नै गर्दै आएको छ ।

अमित डिओंडीलाई स्वागतका लागी चलचित्र लेखक, निर्देशक एवं चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीका निजी सचिव जनक खड्का, सम्राट फिल्मस्का भरत कंडेल लगायतको टिम पुगेको थियो । भ्वाइस आर्टिष्ट अमित डिओंडीले अमेजन, नेटफिलिक्स तथा चर्चित प्लेटफर्मका लागी ३ हजार बढी सिरिज तथा फिल्महरुमा भ्वाइस डबिङ तथा लेखनको काम गरिसकेका छन् । साथै चर्चित कार्टुन सिरिज मोटु पत्लुको ‘मिक्की अनलाइन’ क्यारेक्टर अमितले नै आवाज दिँदै आएका छन् ।

News in English