आर्टिष्ट खबर/ काठमाडौं । नयाँ सरकार गठनसँगै राजनीतिक तथा सामाजिक चहलपहल बढेको बेला नेपाली फिल्म क्षेत्र भने सुस्त गतिमा देखिएको छ। बालेन शाह देशका ४३औं प्रधानमन्त्रीमा नियुक्त भएपछि मन्त्रिपरिषद् फेरबदल, राजनीतिक बहस र सामाजिक सञ्जालको बढ्दो चर्चा–यतिबेला सार्वजनिक ध्यान मुख्यतः राजनीतिमै केन्द्रित भएको छ। यसको प्रभाव पछिल्ला केही सातादेखि चलचित्र क्षेत्रमै पनि परेको देखिन्छ।
पछिल्लो दुई सातादेखि नेपाली फिल्म रिलिज भइरहे पनि हलमा दर्शकको उपस्थिति न्यून देखिएको चलचित्र व्यवसायीको भनाइ छ। उदाहरणका लागि, हाल प्रदर्शनमा रहेका केही नेपाली फिल्महरूले पहिलो साता अपेक्षित व्यापार गर्न सकेनन्। हल सञ्चालकका अनुसार गत शुक्रबार रिलिज भएको हामी तीन भाई फिल्मले सोचेजस्तो दर्शकको साथ पाउन सकेको छैन ।
बिदेशी फिल्मतर्फ पनि स्थिति त्यति फरक छैन। हलमा प्रदर्शन भइरहेका केही हलिउड तथा दक्षिण भारतीय फिल्महरू ठूला स्टारकास्टका भए पनि सोचेजस्तै कारोबार गर्न नसकेको वितरकहरूको अनुभव छ । यद्यपी पछिल्लो समय रिलिजमा आएको हिन्दी फिल्म धुरन्धरले भने अन्यको अनुपातमा दर्शकको साथ पाइरहेको देखिन्छ ।
चलचित्र क्षेत्रका जानकारहरू भन्छन्– “देशको राजनीतिक वातावरण अस्थिर हुँदा मनोरञ्जन क्षेत्रमा सीधा असर पर्छ। मानिसको प्राथमिकता तत्कालीन घटनामा केन्द्रित हुन्छ।”
यद्यपि, बालेन शाह नेतृत्वको नयाँ सरकार बनेसँगै देशमा स्थिरता आउने संकेत देखिएको र त्यसले मनोरञ्जन बजारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ। हल सञ्चालकहरू आशावादी छन् कि यदि राजनीतिक माहोल शान्त रह्यो भने वैशाख–जेष्ठतर्फका नयाँ नेपाली फिल्मले दर्शक तान्न सक्नेछन्।
आगामी महिनामा राम नाम सत्य, आई.एम.जित बहादुर, ‘परालको आगो’, ‘यानीमायाः रिदम अफ लभ’ लगायतका फिल्म रिलिज हुन लागेका छन्। चलचित्र निर्माताहरूको भनाइमा, राजनीतिक स्थिरता र जनजीवन सामान्यतामा फर्किएसँगै आगामी फिल्महरूले राम्रो कमाइ गर्न सक्छन्।
नयाँ सरकारले फिल्म क्षेत्रप्रति कस्तो ध्यान दिन्छ भन्ने कुरामा सबैको नजर छ, तर तत्कालका लागि उद्योगले राजनीतिक माहोल स्थिरताको प्रतिक्षा गरिरहेको छ।




१४ चैत्र २०८२, शनिबार १४:२० 










