विश्व प्रसिद्ध ‘वर्ल्ड अफ डान्स’को दोस्रो संस्करण नेपालमा घोषणा

...

काठमाडौंविश्वव्यापी रूपमा ख्यातिप्राप्त नृत्य प्रतियोगितावर्ल्ड अफ डान्सको नेपाली संस्करणवर्ल्ड अफ डान्स नेपाल २०२६को औपचारिक घोषणा गरिएको छ। आइतबार काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको दोस्रो संस्करणको सुरुवात गर्दै निर्णायक समिति, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरिएको हो। सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट सुरु भई ५० भन्दा बढी देशमा फैलिसकेको यो विश्व स्तरीय प्लेटफर्मलाई नेपालमा ल्याएर नेपाली प्रतिभालाई विश्व मञ्चमा चिनाउने उद्देश्य राखिएको छ।

पत्रकार सम्मेलनमा कार्यक्रमको ट्रेलर प्रदर्शन गरिनुका साथै निर्णायक समितिको परिचय गराइएको थियो। समारोहको मुख्य आकर्षणका रूपमा बलिउडका प्रख्यात कोरियोग्राफर तथा समकालीन नृत्यका बादशाह टेरेन्स लुइसलाई कार्यक्रमकोसेलिब्रेटी ग्रान्ड जजको रूपमा घोषणा गर्दै उनको परिचयात्मक भिडियो प्रस्तुत गरिएको थियो। टेरेन्स लुइसडान्स इन्डिया डान्सइन्डियाज बेस्ट डान्सरजस्ता ठुला भारतीय रियालिटी शोका चर्चित निर्णायक हुन्। नेपालमा उनको उपस्थितिलाई लिएर आयोजकले यसलाई उत्कृष्टताको प्रतीक र उदीयमान डान्सरहरूका लागि ठुलो प्रेरणाको रूपमा लिएका छन्। ग्रान्ड जज टेरेन्सका साथै निर्णायक मण्डलमा नेपालको शान तथा लेजेन्डरीवाइल्ड रिपर्ज क्रुका सदस्य किरण थापा रवर्ल्ड अफ डान्स नेपालका कलात्मक निर्देशक जेडी तमु रहनेछन्। नेपालका ठुला डान्स रियालिटी शोहरूमा आफ्नो सफल निर्णायकको भूमिका निर्वाह गरिसकेका किरण थापाले पूरै राष्ट्रलाई आफ्नो नृत्यमार्फत हर्षित तुल्याउँदै आएका छन्। यसै गरी, टेरेन्स लुइस डान्स एकेडेमीबाटै प्रशिक्षित जेडी तमुले नेपाली डान्सरहरूलाई विश्वव्यापी पहिचान दिलाउने प्रमुख शक्तिको रूपमा काम गरिरहेका छन्।

कार्यक्रममा बोल्दैवर्ल्ड अफ डान्स नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजले नेपाली डान्सरहरूले पनि उत्सव मनाउन सक्ने स्तरको अन्तर्राष्ट्रिय प्लेटफर्म नेपालमै आओस् भन्ने चाहना अनुरूप यो कार्यक्रम ल्याइएको बताए। त्यस्तै, कलात्मक निर्देशक जेडी तमुले नेपाली कलाकारहरूले विदेशमा जसरी नेपाली कला र संस्कृति प्रस्तुत गरे, त्यसैबाट प्रभावित भएर यो फ्रेन्चाइज नेपाल ल्याउने अफर आएको खुलाए। उनका अनुसार यस प्रतियोगितामा नेपालको रैथाने संस्कृति र नृत्य नै मुख्य केन्द्रमा रहनेछ भने अडिसनमा भारतीय डान्सरहरूले समेत सहभागिता जनाउन पाउनेछन्।

यो कार्यक्रमलाई लिएर अमेरिकी दूतावासले पनि विशेष चासो र सहकार्य अघि बढाएको छ। अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले रचनात्मक उद्योगको क्षेत्रमा दूतावास सधैँ दृढ साझेदार रहँदै आएको बताउँदैवर्ल्ड अफ डान्सआफ्नै गृहनगर लस एन्जलसबाट सुरु भएकोले यसको हिस्सा हुन पाउँदा खुसी लागेको बताए। उनले यसलाई दुई राष्ट्र बिचको सांस्कृतिक आदानप्रदान र नेपाली कलाकारलाई ग्लोबल स्टेजमा पुर्‍याउने महत्त्वपूर्ण अवसरको रूपमा व्याख्या गरे।

पत्रकार सम्मेलनमा नेपाली कला क्षेत्रका दिग्गज व्यक्तित्वहरूको पनि बाक्लो उपस्थिति थियो। अभिनेता दयाहाङ राईले नृत्यलाई आफूलाई अभिव्यक्त गर्ने एक सशक्त माध्यम बताउँदै आफ्नो रहनसहन र संस्कृतिलाई सँगै लिएर हिँड्न नवप्रतिभाहरूलाई आह्वान गरे। अर्का अभिनेता बुद्धि तामाङले नृत्य र नाटक दुवैले सुरुदेखि नै कला र संस्कृतिलाई बोक्ने धारणा राखे।फेस अफ वर्ल्ड अफ डान्स नेपालकी रूपमा रहेकी नृत्याङ्गना कविता नेपालीले लुकेर रहेका प्रतिभाहरूका लागि यो सुनौलो मौका भएको बताउँदै अन्तर्राष्ट्रिय मञ्चमा पुग्न तयार रहन आग्रह गरिन्। कला र मिडिया एम्बासडर नायिका परीक्षा लिम्बुले नृत्य मनोरञ्जन मात्र नभई यसले धेरै कुरा बोकेको हुने बताइन्। रणनीतिक सल्लाहकार अभिनेता प्रशान्त ताम्राकारले यति ठुलो अन्तर्राष्ट्रिय च्याम्पियनसिप नेपाल ल्याएकोमा आयोजकलाई धन्यवाद दिए भने चर्चित मिडिया व्यक्तित्व सिसन बानियाँलेवर्ल्ड अफ डान्सको फाइनल इभेन्ट विश्वमै पहिलो पटकप्याराडाइम टिभीमार्फत युट्युबमा आउन लागेको जानकारी दिँदैनयाँ नेपाल यहाँ छ, हामी आउँदैछौंभन्दै उत्साह व्यक्त गरे।

समारोहमा विजेताहरूलाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो। निर्णायक किरण थापाले उक्त ट्रफी हेर्दा मात्र आकर्षक नभई २४ क्यारेट सुनको जलप लगाइएको (रियल गोल्ड प्लेटेड) रहेको जानकारी दिए। प्रतियोगितालाई मुख्य गरी चार वटा डिभिजनमा विभाजन गरिएको छअपर डिभिजनजुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन। प्रत्येक डिभिजनका विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार, २४ क्यारेट गोल्ड प्लेटेड ट्रफी र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्नेछन्। यसबाहेक उत्कृष्ट पहिरन, उत्कृष्ट विषयवस्तु, र दर्शकको रोजाइ जस्ता विधामा पनि अवार्ड तथा गिफ्ट ह्याम्परहरू प्रदान गरिनेछ। प्रतियोगिताको सबैभन्दा ठुलो आकर्षण भनेको विजेताले विश्व मञ्चमा नेपालको अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्न पाउने अवसर हो।

नेपालभरका प्रतिभाहरूलाई समेट्न विभिन्न पाँच सहरमा अडिसन सञ्चालन हुने आयोजकले जनाएको छ। सार्वजनिक गरिएको तालिका अनुसार वैशाख १९ गते नेपालगन्ज, वैशाख २२ गते बुटवल, वैशाख २६ गते पोखरा, वैशाख ३० गते काठमाडौं र जेठ २ गते इटहरीमा अडिसनहरू हुनेछन्। अडिसनबाट छानिएका उत्कृष्ट डान्सरहरूको प्रतिस्पर्धात्मक सेमिफाइनल जेठ २१ गते हुनेछ भने प्रतियोगिताको भव्य ग्रान्ड फिनाले जेठ २३ गते सम्पन्न हुनेछ।