काठमाडौं । चलचित्र बाः एक योद्धा को निर्माण टिमले अन्ततः मुख्य कलाकार सार्वजनिक गर्न थालेको छ । छायांकन अन्तिम चरणमा पुग्दा अभिनेता दिव्यदेव पन्त मुख्य भूमिकामा अनुबन्धित भएको जानकारी दिइएको हो ।
यसअघि निर्माण पक्षले कलाकारबारे कुनै औपचारिक जानकारी दिएको थिएन । केही दिनअघि सेटबाट अभिनेत्री झरना थापा र उनकी छोरी सुहाना थापाको तस्वीर सार्वजनिक भएपछि उनीहरू पनि फिल्ममा रहेको खुलासा भएको थियो । आमा–छोरी झरना र सुहानाले पहिलो पटक एउटै चलचित्रमा आमा–छोरीकै भूमिकामा अभिनय गर्दैछन् ।
चर्चित संगीतकार हरि लम्सालले यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । कथा र पटकथा पनि उनले नै तयार पारेका छन् । फिल्मले आफ्नो सन्तानको भविष्यका लागि संघर्ष गर्ने बाबुको मार्मिक कथा प्रस्तुत गर्ने जनाइएको छ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता वसन्त लम्साल हुन् । हाल काठमाडौंका विभिन्न स्थानमा अन्तिम चरणको छायांकन भइरहेको छ ।





८ बैशाख २०८३, मंगलवार १५:०७ 










