काठमाडौँ । नेपाली कमेडी शोको भिडमा फरक स्वादको रुपमा आउने तयारीमा रहेको ‘कमेडी बाज’को पहिलो भागको प्रोमो सार्वजनिक भएसँगै दर्शकले चासोको रुपमा हेरेका छन् । आइरेहेका कमेडी शो भन्दा फरक फम्र्याटमा कमेडी बाजलाई देख्न सकिन्छ । आगामी आइतबारबाट टेलिभिजन र युट्युवमार्फत प्रसारण हुने भनिएको यो शोको पहिलो भागमा सामाजिक सन्जालमा खुबै चर्चामा रहिरहने कलाकारद्धय राजेन्द्र खड्गी र जयकिशन बस्नेतलाई निम्त्याइएको छ ।
सुन्दर खनाल युट्युवमा सार्वजनिक पहिलो भागको ३ मिनेट ३० सेकेण्ड प्रोमो हेर्दा हासोको झट्का राम्रै देखिन्छ । बिशेषगरी यो शोमा गेष्टले पनि रोस्टिङ गरिरहेको देखिन्छ । त्यसैले पनि थप रोचक बनेको देखिन्छ । कमेडी बाज सुन्दर खनालले निर्माण गरेका हुन् । उनी अर्को चर्चित कमेडी शो कमेडी दरबारमा आबद्ध छन् । सुन्दरले अब दुईतिरै समय दिनेछन् । कमेडी बाज भने उनले आफैले निर्माण र निर्देशन गरिरहेका छन् ।
शोबारे सुन्दर भन्छन्, ‘शोको मूल अवधारणा ‘ब्याटल’ फर्म्याटमा आधारित छ । यो किसिमको शो अहिलेसम्म नेपालमा छैन त्यसैले दर्शकले रमाइलो मान्नुहुनेछ । आशा लिएका छौं ।’ शोलाई सुन्दरसँगै आरती थापाले होस्टिङ गर्नेछन् भने शोमा अन्य कमेडियनहरु पवन खतिवडा (म्याकुरी), विश्वास तिमल्सिना (बिटी कान्छा), सरोज भण्डारी, सीता न्यौपाने, शुसान्त बस्याल, आशिष न्यौपाने, निश्चल अर्याल लगायतका कलाकारहरु पनि हुनेछन् । शो ईमेज टेलिभिजन र सुन्दर खनाल युट्युव च्यानलमा प्रत्येक आइतबार राती ८ बजे हेर्न सकिनेछ ।





९ बैशाख २०८३, बुधबार १८:०० 










