ट्रेलरमा एक मुठ्ठी बादलः परिवार भित्रको कथा

...

काठमाडौँ । नयाँ फिल्म ‘एक मुठ्ठी बादल’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी जेठ १ गतेबाट रिलिज हुने यो फिल्मको ट्रेलरमा फिल्मको सार भेटिन्छ । परिवारमा एक अप्रत्याशित घटनाले निम्त्याउने खतरालाई ट्रेलरमा देखाइएको छ । ‘एक मुठ्ठी बादल’ले परिवारको हिस्सा हुनुको अर्थ, घर छोड्नुको पीडा, र बदलिँदो संसारमा आफ्नो स्थान कसरी खोजिन्छ भन्ने कथा फिल्मले उजागर गरेको छ ।

फिल्मको कथा बारे निर्माण टिमले यस्तो भन्छः
”विवाह नजिकिँदै जाँदा सिंगो परिवार एक ठाउँमा भेला हुन्छ—बुबा, आमा, दिदी, बहिनी, फुपू—वर्षौँको माया, मौनता र अपेक्षा बोकेर। तर, एक अप्रत्याशित घटनाले सम्पूर्ण परिवारलाई हल्लाउने खतरा पैदा गर्छ। ‘एक मुठ्ठी बादल’ले परिवारको हिस्सा हुनुको अर्थ, घर छोड्नुको पीडा, र बदलिँदो संसारमा आफ्नो स्थान कसरी खोजिन्छ भन्ने कथा उजागर गर्छ।”

फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतको अभिनय छ । सहारा शर्मा लिखित तथा निर्देशित यस फिल्मका मुख्य निर्माता अभिमन्यु दीक्षित हुन् । निर्मातामा सारा फाजिलात, सामीप्यराज तिमल्सेना, अनुप पौडेल छन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन् ।

छायांकन लिन्ह डान गुयेन फान, प्रोडक्सन डिजाइन यशस्वी सभरवाल, सम्पादन गौरवकुमार मल्लिक, सम्पादन सल्लाहकार दीपा भाटिया, भेषभूषा जानकी कडायत, मेकअप कीर्ति जोशी, कला निर्देशन अग्रणी ठकुरी झा र पोस्ट–प्रोडक्सन सुपरभिजन आश्मा गौतमले सम्हालेका छन् ।

गौंथली इन्टरटेनमेन्ट, मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सह–निर्माणमा बनेको यो फिल्म नेपालभर जेठ १ (मे १५) बाट प्रदर्शनमा आउनेछ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ ।