काठमाडौं । सल्यानको प्रसिद्ध पर्यटकीय गन्तव्य कुपिण्डे दह यतिबेला प्राकृतिक सौन्दर्यसँगै कर्णालीको चलचित्र संस्कृतिलाई विश्वसामु चिनाउने नयाँ मञ्चका रूपमा उभिएको छ। ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ र ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ भन्ने मूल भावनासहित आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन कुपिण्डे दहको किनारमा भव्य रूपमा सम्पन्न भएको छ। सुर्खेतबाट सुरु भएको यो महोत्सवले कर्णालीको कला, संस्कृति र पर्यटनलाई चलचित्रको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्य लिएको छ।
कार्यक्रममा सल्यानका प्रतिनिधि सभा सदस्य रमेश मल्ल प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, वन, वातावरण तथा उद्योग पर्यटन मन्त्री सुरेश अधिकारी र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायतको उपस्थिति रहेको थियो। अध्यक्ष डिसीले कर्णालीलाई अन्तर्राष्ट्रिय स्तरको सुटिङ हब बनाउन सबै पक्षको समन्वित प्रयास आवश्यक रहेको बताए। यस्तै, बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले चलचित्र छायांकनका लागि आउने टोलीलाई स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
प्रदेश सरकारले कर्णाली प्रज्ञा प्रतिष्ठानमार्फत चलचित्र निर्माणका लागि आउने निर्मातालाई विशेष सहुलियत दिने नीति अघि सारिसकेको जानकारी पनि दिइएको छ। कार्यक्रममा सहभागी चलचित्र निर्माता, निर्देशक र लेखकहरूले कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मौलिक जनजीवनलाई चलचित्र कथाका लागि अत्यन्तै उपयुक्त आधारभूमि भएको निष्कर्ष निकालेका छन्। सन्तोष सेन, विकास सुवेदी र प्रेम पुरी लगायतका चलचित्रकर्मीहरूको सहभागिता रहेको कार्यक्रममा पूर्व रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले सल्लाहकारको भूमिका निर्वाह गरेका थिए।
स्थानीय कलाकार सपना शाही र संगीता बढुवालको सांगीतिक तथा सांस्कृतिक प्रस्तुतीले महोत्सवको माहोललाई अझ जीवन्त बनाएको थियो। रेडचेरी मिडियाको आयोजनामा नेपाल पर्यटन बोर्ड, स्थानीय तह र चलचित्र विकास बोर्डको सहकार्यमा सम्पन्न यो महोत्सवले पर्यटन प्रवर्द्धनसँगै रोजगारी सिर्जना र जलवायु सचेतनामा पनि योगदान पुर्याउने लक्ष्य राखेको छ। साथै, यसै वर्षदेखि ‘चलचित्र कथा प्रतियोगिता’ घोषणा गरिनुले महोत्सवलाई थप अर्थपूर्ण बनाएको छ।





१४ बैशाख २०८३, सोमबार १७:१७ 










