काठमाडौँ । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘बब डाई‘का लागी गायक कुशल पोख्रेलले गीत गाएका छन् । गीतको भिडियोको छायांकन सकिएको छ । गएको सोमबार र मंगलबार ललितपुरको भैसेपाटीमा भिडियोको छायांकन गरिएको थियो ।
केहि समयपछि सार्वजनिक गर्ने तयारी गरिएको भिडियोमा चलचित्रका सबैजसो कलाकार अटाएका छन् । तर फिल्मका मुख्य कलाकार सौगात मल्लको दृश्यहरु भने केहिदिनमा छायांकन गर्ने गरि बाँकी राखिएको छ । गीतमा शब्द पनि गायक कुशलकै रहेको छ भने बेश चर्चिल भुसालको रहेको छ । मिक्सिङ र मास्टरिङको काम केपासले गरेका छन् । गायक कुशल तिनै गायक हुन् जसको गएको वर्ष सार्वजनिक ‘पैसा‘ गीत निकै चर्चामा आएको थियो । कुशलले ‘बब डाई‘मा अभिनय समेत गरेका छन् । उनको यो अभिनयको हिसाबले डेब्यु फिल्म रहनेछ । गीत भने अन्य फिल्महरुमा पनि गाइसकेका छन् ।
रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्मित ‘बब डाई‘ कमेडी जनरामा आधारित छ । फिल्ममा सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका छ । सौगातले फिल्ममा ‘बब डाई’ को शीर्ष भूमिका निर्वाह गरेका छन् । नेवारी लवजमा ‘दाई’ लाई ‘डाई’ भनिने भएकाले चलचित्रको नाम ‘बब डाई’ राखिएको फिल्मका निर्देशक प्रवीण श्रेष्ठ बताउँछन् ।

चलचित्रमा सौगात र सिम्रनका साथै सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी लगायतका कलाकारहरूको अभिनय रहेको छ । बालकलाकारका रूपमा अग्रिम पण्डित देखिनेछन् ।
मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको यस चलचित्रको सम्पादन स्वयम् निर्देशक श्रेष्ठले नै गर्दैछन् । श्याम तामाङ र टोलीले खिचेको यस चलचित्रमा दिनेश बहादुर राउत एसोसिएट निर्देशक र तर्कराज न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।
राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता रविन्द्र प्रजापती हुन् । फिल्मको रिलिज २०८३ मै हुने तर मिती केहि समयमै घोषणा गरिने बताइएको छ ।





१६ बैशाख २०८३, बुधबार ०८:०४ 










