मिरा राणाद्वारा ‘मिरा क्यान्सर समाज’ स्थापना, क्यान्सरविरुद्ध सामूहिक अभियान सुरु

...

काठमाडौं । लोकप्रिय गायिका मिरा राणाले आफ्नो व्यक्तिगत संघर्षलाई सामाजिक अभियानमा रूपान्तरण गर्दै मिरा क्यान्सर समाज स्थापना गरेकी छन्। सेवा, सहयोग र सद्भावको उद्देश्यसहितक्यान्सरविरुद्धको लडाइँमा हामी सबै एकसाथभन्ने नारासहित समाज गठन गरिएको हो।

कार्यक्रममा बोल्दै मिराले आफू गम्भीर बिरामी हुँदा परिवार र चिकित्सकको सकारात्मक व्यवहारले ठूलो हौसला दिएको अनुभव सुनाइन्। उनले नेपालमा पनि बिरामीप्रति संवेदनशील व्यवहार आवश्यक रहेको बताउँदै चिकित्सकहरूलाई बिरामीलाई आत्मबल दिने वातावरण बनाउन आग्रह गरिन्।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर क्यान्सर अस्पतालका निर्देशक रोशन प्रजापतिले मिराको अभियान प्रशंसनीय भएको बताए। विभिन्न विशेषज्ञ चिकित्सक, कलाकार, पत्रकार तथा समाजसेवीहरूले पनि समाजको उद्देश्यलाई समर्थन जनाउँदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

समाजकी सचिव हेमा मानन्धरले क्यान्सरपछि पनि जीवन फूलझैँ फक्रन सक्छ भन्ने सन्देश दिन समाज स्थापना गरिएको बताइन्। कार्यक्रममा क्यान्सर उपचार, सचेतना र बिरामीलाई मनोबल दिने विषयमा समेत चर्चा गरिएको थियो।

समाजको उपाध्यक्षमा सिद्धार्थ राणा, सचिवमा हेमा मानन्धर, कोषाध्यक्षमा सुरक्षा सिजापती र सहसचिवमा नविना शाक्य रहेका छन्। अन्य सल्लाहकारहरूमा विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश छन्।