गीतकार राधा भण्डारीको ‘जति माया दिए पनि’ लोकार्पण

...

काठमाडौं । गीतकार राधा भण्डारीको शब्द रचनामा रहेको गीत ‘जति माया दिए पनि’ लोकर्पण गरिएको छ । गीतकार सघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको सभापतित्व एवं प्रतिष्ठित कवि तथा गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यतामा गीतकार भण्डारीद्वारा सिर्जित गीत ‘जति माया दिए पनि’को लोकर्पण गरिएको हो ।
उपस्थित अतिथिहरुलाई स्वागत गर्दै संघका उपाध्यक्ष रमेश कोइरालाले गीतकार राधा भण्डारीको गीत ‘जति माया दिए पनि’ लाई संघका तर्फबाट विमोचन गर्ने मौका दिनुभएकोमा हार्दिक आभार प्रकट गरेका थिए । सम्पूर्ण स्रष्टाहरुको सिर्जनालाई सार्वजनिकीकरण गर्ने साक्षीका रुपमा गीतकार संघ सदैव अघि बढेको समेत उनले बताए ।
कार्यक्रममा गीतकार राधा भण्डारीले आफ्नो गीति लेखनको यात्राका क्रममा भएका अनुभवहरुलाई सुनाउँदै आख्यानबाट गीति लेखनतर्फ अघि बढेको बताइन् । २०६१ सालमा लेखिएको गीतलाई अहिले रेकर्ड गरिएको बताउँदै पहिलो सिर्जनाका रुपमा रकेर्ड भए पनि आगामी दिनमा आफ्ना सिर्जनालाई संग्रहित गराउने लक्ष्य भएको बताए । उनले रकेर्डका क्रममा उर्जा दिने मोडल कृष्ण केसी, गीतकार प्रमोद भट्टराई प्रतीक, संगीतकार सन्तोष श्रेष्ठ र मोडल श्रीदेव भट्टराईको सहयोगमा गीतले पूर्णता पाएको बताउँदै उनीहरुलाई धन्यवाद समेत दिएकी थिइन् ।


त्यसैगरी संगीतकार सन्तोष श्रेष्ठले गीतकार भण्डारीका सिर्जनाहरु अब्बल भएको बताउँदै छोटो समयको संगीतमा गीतकार भण्डारीको फराकिलो मन र बौद्धिक क्षमता भएको सुनाए । संगीतकार श्रेष्ठले गीतिलेखनको गहिराईमा कहिंकतै खोट लाउने ठाउँदै नभएको बताए । उनले पुरुष पात्रको कथामा महिला पात्रले गीत लेख्दा पनि त्यसभित्रको पीडा, वेदना र संवेदनाका भावहरुमा सही शब्द विन्यास गरिएको बताए ।
‘जति माया दिए पनि’ गीतका भिडियोमा अभिनय गरेका मोडल कृष्ण केसीले आफू नयाँ भएको बताउँदै फिल्मका हिरोइनहरुलाई म्युजिक भिडियोमा अभिनय गराउन प्रस्ताव गर्दा महङ्गो र नयाँसँग काम नगर्ने भन्ने शब्दले कामको सुरुवातमै नमिठो बनाए पनि स्मारिका ढकाल, श्रीदेव भट्टराईसँग काम गर्दा नयाँभएको महसुस नभएको बताए । निर्देशकले आफूलाई गीतको भाव अनुसार अभिनयमा देखाउन सफल हुनुभएको बताउँदै गीतकार भण्डारीको सिर्जनालाई दर्शकस्रोतासम्म ल्याउन सफल भएको हुँदा अडियो भिडियोका सहकर्मीहरुलाई धन्यवाद समेत ज्ञापन गरे ।
‘जति माया दिए पनि’ गीतका प्रस्तुतकर्ता गीतकार प्रमोद भट्टराई प्रतीकले गीत रेकर्ड र भिडियो निर्माणका क्रममा सहजीकरण गर्ने मौका दिएको राधा भण्डारी जस्ता नारी गीतकारहरुलाई उर्जा दिनुपर्ने बताए । गीतकार भट्टराईले उहाँको लेखनमा सरलता र अब्बलता भएको बताउँदै सिर्जनाको पाटोलाई निरन्तरता दिन प्रेरित गरे ।
‘जति माया दिए पनि’ गीतको श्रव्य दृश्यलाई लोकपर्ण गरेपछि शुभकामना मन्तव्य दिँदै साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले आख्यानमा जस्तै गीत सिर्जना पनि निरन्तरता दिन आग्रह गरे । त्यस्तै वरिष्ठ संगीतकार राजु सिंहले गीतको अडियो नै राम्रो बन्नु पर्ने बताउँदै शुभकामना दिएका थिए ।
त्यस्तै संघका निवर्तमान अध्यक्ष शुभ मुकारुङले गीत लेखनमा सुरुवात जस्तो नेखिएको र आख्यान र गीतिलेखन दुवैलाई सँगसँगै लैजानुपर्ने बताए । उनले गीत लेखन गर्नु चुनौतिको विषय समेत भएको बताए ।


‘जति माया दिए पनि’ गीतको लोकपर्णपछि कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठित कवि तथा गीतकार एस्पी कोइरालाले गीत लेख्न सजिलो नभएको बताए । कविता, आख्यान लेख्नुभन्दा गीत लेख्नु र कथालाई पाँच मिनेटभित्र कैद गर्नु निकै गाह्रो भएको बताउँदै गीतकार राधा भण्डारीलाई गीत लेखनलाई संग्रहित गर्न प्रेरित गरे ।
कार्यक्रमलाई समापन गर्दै संघका अध्यक्ष बसन्त वित्यासी थापाले गीतकार भण्डारी एउटा गीतकारका रुपमा भित्रिएकोमा निरन्तर लाग्नुपर्ने बताए । ‘जति माया दिए पनि’ गीतको श्रव्यदृश्य सार्वजनिक गर्ने अवसर दिएकोमा संघको तर्फबाट बधाई तथा शुभकामना दिँदै बौद्धिक सिर्जनालाई संरक्षण, प्रबद्र्धन गर्ने संघको कर्तव्य भएको बताए । कार्यक्रमको सहजीकरण गीतकार सुमन बैरागीले गरेका थिए ।
गीतकार संघ नेपालको आयोजनामा भएको उक्त लोकर्पण कार्यक्रममा गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष शुभ मुकारुङ, मोडल कृष्ण केसी, गीतकार प्रमोद भट्टराई प्रतीक, संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक जीवन शाही, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ संगीतकार राजु सिंह, नारायण गोपाल संगीत कोषका अध्यक्ष दिपक केसी, संगीत रोयल्टी संकलन समाजका कोषाध्यक्ष डा.ओमकृष्ण प्रसाईँलगायतका विशिष्ट गीतकार तथा संगीतकर्मीहरुको बाक्लो उपस्थितिमा उक्त गीतलाई लोकर्पण गरिएको थियो ।