चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक

...

काठमाडौँ । आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ुकुम्भु को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार आरएए डिजिटल नेपाल मार्फत गीत रिलिज गर्दै दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता थप बढाएको हो ।

‘स्पर्श’ बोलको गीतमा गायक मनिष शाहीको स्वर रहेको छ भने गीतका शब्द चलचित्रका लेखक तथा निर्देशक रन्धिर श्रेष्ठले लेखेका हुन् । गीतमा डीजे एएनको संगीत रहेको छ ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार अशोक आर्यन र सृष्टि खड्का बीचको रोमान्टिक केमेस्ट्रीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । प्रेम, भावना र सम्बन्धको मिठासलाई समेटिएको गीतको भिडियो दर्शकले रुचाउने विश्वास निर्माण पक्षले लिएको छ ।

ुकुम्भु एक्सन तथा सामाजिक कथावस्तुमा आधारित चलचित्र हो । चलचित्रमा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह, सुरेन्द्र ठाकुर, अफ्सना थापा, आरजे सापकोटा, मुन्ना सर्राफ लगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रको लेखन, निर्देशन, छायांकन तथा सम्पादन रन्धिर श्रेष्ठ स्वयंले गरेका हुन् । चलचित्रमा सम्राट बस्नेत, प्रदीप खड्का ९भारत०, सञ्जय थापा र कुमार महर्जन को एक्सन निर्देशन रहेको छ भने कोरियोग्राफी रोबर्ट सिंहले गरेका छन् ।

आरएएस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र आगामी मे २९ अर्थात् जेठ १५ गतेदेखि नेपालभर प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्रको यस अघि सार्वजनिक टिजरले राम्रो चर्चा पाउन सफल भएको छ।