१९७४ एडीको ‘रक यात्रा’ वर्ल्ड टुर घोषणा, २० वर्षपछि फेरि फर्किँदै

...

काठमाडौं । चर्चित नेपाली ब्याण्ड १९७४ एडी (1974 AD)ले करिब २० वर्षपछि आफ्नो लोकप्रिय कन्सर्ट सिरिज ‘रक यात्रा’ पुनः सुरु गर्ने भएको छ। दुई दशकअघि त्रिभुवन रंगशालामा भएको ऐतिहासिक शोमा ५० हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो भने टिकट नपाएर धेरै दर्शक फर्किनु परेको घटना अझै पनि स्मरणीय मानिन्छ।

यसपटक ब्याण्डले उक्त कन्सर्टलाई ‘वर्ल्ड टुर’ को रूपमा अघि बढाउने तयारी गरेको छ, जुनले पुनः एकपटक ठूलो सांगीतिक इतिहास रच्ने अपेक्षा गरिएको छ। आगामी अगस्टदेखि सुरु हुने टुर सेप्टेम्बर र अक्टोबर महिनासम्म अष्ट्रेलियामा सञ्चालन हुने बताइएको छ।

टुरको व्यवस्थापन रोटे पिङ इन्टरटेन्मेन्टले गर्नेछ। आयोजकका निर्देशकहरू राजेश घिमिरे र रोशन भट्टराईका अनुसार टुर अष्ट्रेलियाका आठ प्रमुख सहरहरूमा आयोजना गरिनेछ।

टुर हुने सहरहरूमा सिड्नी, मेलबर्न, ब्रिस्बेन, एडिलेड, पर्थ, न्यु क्यासल, अकल्यान्ड र क्यानबेरा रहेका छन्।

ब्याण्डले २० वर्षअघिको चर्चित सेट लिस्टलाई पनि यसपटकको टुरमा समावेश गर्ने जनाएको छ। यस वर्ल्ड टुरले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा अझै विस्तार गर्ने विश्वास गरिएको छ।