अमेरिका–क्यानडापछि ‘आ बाट आमा २’ को जापान राइट्स बिक्री, सोमबारबाट छायांकन सुरु

...

काठमाडौं । आगामी बडादसैँको अवसरमा प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्मआ बाट आमा २को जापान प्रदर्शन अधिकार (डिष्ट्रिब्युसन राइट्स) बिक्री भएको छ। निर्माण पक्षका अनुसार जापान राइट्स आर एन्ड बी इन्टरटेनमेन्टले खरिद गरेको हो। यसअघि फिल्मको अमेरिका र क्यानडा राइट्स डोको फिल्म्सले खरिद गरिसकेको थियो।

अमेरिका, क्यानडा र जापानमा प्रदर्शन अधिकार बिक्री भइसकेपछि फिल्मप्रति अन्तर्राष्ट्रिय बजारमा समेत उत्साह देखिएको निर्माण पक्षले जनाएको छ।

गत वर्ष प्रदर्शनमा आएकोआ बाट आमाको सिक्वेलका रूपमा निर्माण हुन लागेको यो फिल्मको छायांकन सोमबारदेखि मकवानपुरको चित्लाङबाट सुरु भएको छ। निर्देशक चन्द्र पन्तका अनुसार नेपालका विभिन्न स्थानसँगै विदेशमा पनि फिल्मको छायांकन गरिनेछ।

आर्या इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्मको लेखन, पटकथा तथा निर्देशन चन्द्र पन्तले नै गरिरहेका छन् भने करणसिंह रसाली प्रोडक्सन म्यानेजर रहेका छन्। चलचित्र आगामी असोज ३० गते (अक्टोबर १६) नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।

दशैंको जमरा र आमाको पर्खाइको कथानारासहित निर्माण हुन लागेको फिल्ममा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट र नरेन खड्काको अभिनय रहनेछ। नेपाल वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआरले सुरक्षित गरेको छ।