निशा गुरुङको ‘तीन ढिक्के फुलीलाई सामाजिक सञ्जालमा उत्कृष्ट प्रतिक्रिया

...

काठमाडौं । गायिका निशा गुरुङको प्रस्तुति रहेको नयाँ मौलिक लोक दोहोरी गीततीन ढिक्के फुली (ढाकाको टोपीले)’ सार्वजनिक भएको ९ दिनमै सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा कमाएको छ। युट्युबसहित विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा गीतले लाखौं भ्यूज प्राप्त गर्नुका साथै हजारौं सकारात्मक प्रतिक्रियासहित दर्शकको मन जितिरहेको छ।

निशा गुरुङ र गायक शीतल गुरुङको सुमधुर स्वरमा सजिएको यस गीतले नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानलाई आकर्षक ढंगमा प्रस्तुत गरेको छ। गीतका शब्द सीताराम परियारले रचना गरेका हुन् भने संगीत शीतल गुरुङले नै भरेका छन्। संगीत संयोजन शिव कनौजे मगरले गरेका छन् भने दीप गुरुङको निर्देशन तथा कोरियोग्राफीमा तयार पारिएको म्युजिक भिडियोमा कलाकार विजय पुन, बबिन सिंह ठकुरी, प्रीति गुरुङ र दीपिका मगरको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ।

भिडियोको छायांकन विजय लामाले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन पदम सुवेदीले सम्हालेका छन्। दीप फिल्म्स प्रोडक्सन ग्रुपको पोस्टप्रोडक्सनमा तयार गरिएको यो भिडियो निशा गुरुङकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सांस्कृतिक र नृत्यप्रधान यस गीतले छोटो समयमै दर्शकको मन जित्दै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। दर्शकहरूको उत्साहजनक प्रतिक्रियाले आगामी दिनमा गीतको लोकप्रियता अझै बढ्ने अपेक्षा गरिएको छ।