एभरेस्ट अस्पतालको ‘डिजिटल सुझाव पेटिका’ : अब सुझाव दिनुहोस्, परिवर्तन आफैं हेर्नुहोस्

...

काठमाडौं । सेवाग्राही, बिरामी तथा शुभेच्छुकहरूको आवाजलाई थप प्रभावकारी रूपमा सुन्ने र सम्बोधन गर्ने उद्देश्यका साथ एभरेस्ट अस्पताल, नयाँ बानेश्वरले ‘डिजिटल सुझाव पेटिका’ सञ्चालनमा ल्याएको छ। अस्पतालले आधुनिक प्रविधिको प्रयोग गर्दै सुझाव, गुनासा, अनुभव तथा प्रशंसा संकलन गर्ने नयाँ प्रणाली सुरु गरेको हो।

यस डिजिटल माध्यममार्फत सेवाग्राहीहरूले आफ्ना भावना र अनुभवहरू लेखेर, बोलेर वा फोटोसहित सहज रूपमा अस्पतालसम्म पुर्‍याउन सक्नेछन्। विशेषतः, सुझाव दिने व्यक्तिले आफ्नो सुझाव अस्पताल प्रशासनले प्राप्त गर्‍यो कि गरेन, त्यसको अध्ययन भयो कि भएन तथा सम्बोधनका लागि के–कस्ता कदम चालिए भन्ने जानकारीसमेत प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ।

अस्पतालका अनुसार स्वास्थ्य सेवा केवल उपचारमा सीमित नभई विश्वास, संवाद र निरन्तर सुधारसँग जोडिएको विषय हो। बिरामी तथा सेवाग्राहीका अनुभव र सुझावहरूलाई संस्थागत सुधार तथा सेवा गुणस्तर अभिवृद्धिको महत्वपूर्ण आधार मान्दै यो प्रणाली सञ्चालनमा ल्याइएको हो।

अस्पताल प्रशासन प्रमुख दीपक चन्द्र बरालले बिरामीको उपचारसँगै उनीहरूको आवाज सुन्नु पनि संस्थाको जिम्मेवारी भएको उल्लेख गर्दै प्रत्येक सुझावलाई सुधारको अवसरका रूपमा लिइने बताए। उनका अनुसार डिजिटल सुझाव पेटिकाले अस्पताल र सेवाग्राहीबीचको दूरी घटाउँदै पारदर्शी, उत्तरदायी र सहभागितामूलक सेवा संस्कृतिको विकासमा टेवा पुर्‍याउनेछ।

एभरेस्ट अस्पतालले प्राप्त सुझावहरूको नियमित विश्लेषण गरी सेवा गुणस्तर सुधार, बिरामीमैत्री वातावरण निर्माण तथा संस्थागत विकासका कार्यक्रमहरूमा उपयोग गर्ने जनाएको छ।

‘सुझाव दिनुहोस्, परिवर्तन देख्नुहोस्’ भन्ने मूल नारासहित सञ्चालनमा आएको यो अभियानले स्वास्थ्य सेवामा नागरिक सहभागिताको नयाँ अध्याय सुरु गर्ने विश्वास अस्पतालले व्यक्त गरेको छ।