आजदेखी नुवाकोटमा ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता’ हुने

...

काठमाडौं । ऐतिहासिक एवं सांस्कृतिक जिल्ला नुवाकोटको विदुरमा आज (शुक्रबार) देखि (जेठ २९ गते)देखि ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ आयोजना हुदैछ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजना रहेको प्रतियोगीतामा बिभिन्न १८ दोहोरी टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतिष्ठानले गएको बिहीबार धापासीस्थित केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलना गर्दै टिम तथा तयारी जानकारी दिएको हो । तीन दिन चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको लोक तथा दोहोरी गति प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् ।

जेठ २९, ३० र ३१ गते विदुर नगरपालिकास्थित ईलम प्रशिक्षण केन्द्रमा आयोजना हुने यस प्रतियोगिताले नेपाली लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन गर्ने मूल उद्देश्य राखेको छ ।

प्रतियोगितालाई समावेशी र प्रतिस्पर्धी बनाउन प्रतिष्ठानको आन्तरिक छनोट प्रक्रिया पूरा गरिएको छ । जसअनुसार सातै प्रदेशबाट छनोट भएका उत्कृष्ट २–२ समूह, उपत्यका समन्वय समितिका उत्कृष्ट २ समूह र विदेश शाखाका उत्कृष्ट २ समूह गरी कुल १८ उत्कृष्ट टोलीहरूले रनिङ शिल्डका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रथम हुने टोलीले शिल्डसहित नगद ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी द्वितीय पुरस्कार २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । विधागततर्फ उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिका, अनुशासित गायक÷गायिका, र उत्कृष्ट भेषभूषामा प्रस्तुत हुने गायक–गायिकाका लागि समेत आकर्षक पुरस्कारको व्यवस्था रहेको छ ।

प्रतियोगिताको भव्य उद्घाटन समारोहमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री माननीय बहादुर सिंह लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । दोस्रो दिन बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठ र समापन समारोह (अन्तिम दिन) मा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी प्रतिष्ठानकी अध्यक्ष थापा मगरले जानकारी दिइन् ।

मूल समारोहको संयोजक प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगर आफैँ रहेकी छिन् भने सह–संयोजकमा प्रशासनिक उपाध्यक्ष दीपक खड्का र उप–संयोजकमा केन्द्रीय सदस्य उषा सुवेदी रहेका छन् । सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले सम्हालेका छन् भने कार्यक्रम निर्देशकका रूपमा उज्वल जंग ठकुरी रहेका छन् । मञ्च व्यवस्थापनमा रामजी खाँण र अतिथि सत्कारमा राधिका हमाललगायतका कलाकारहरू विभिन्न उपसमितिमा सक्रिय छन् ।

कार्यक्रमको कुल अनुमानित बजेट ६८ लाख ४० हजार रुपैयाँ रहेको छ । कार्यक्रमको मुख्य संरक्षक बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय रहेको छ भने संरक्षकका रूपमा विदुर नगरपालिका र टोखा नगरपालिका रहेका छन् । नुवाकोट उद्योग वाणिज्य संघ यसको प्रवद्र्धक रहेको छ भने मुख्य सहयोगी संस्थाको रूपमा नुवाकोट निर्माण व्यवसायी संघ रहेको छ ।

प्रतियोगितालाई नुवाकोटमै पुगेर प्रत्यक्ष रूपमा करिब २० हजार दर्शकले अवलोकन गर्ने तथा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका करिब ५० लाख नेपाली तथा नेपालीभाषी दर्शकले हेर्ने अपेक्षा प्रतिष्ठानको छ ।

आयोजक प्रतिष्ठानले सम्पूर्ण लोक सङ्गीतप्रेमी, सञ्चारकर्मी र आम नागरिकलाई यो महोत्सवमा सहभागी हुन अपिल समेत गरेको छ ।