काठमाडौँ। दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी तथा टेलिचलचित्र ‘सीता’ मार्फत आफ्नो अभिनय क्षमता प्रस्तुत गरेकी कलाकार समिया कार्की नयाँ चलचित्रमा अनुबन्धित भएकी छन्। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तिघ्रे क्या बिग्रे’ मा उनी मुख्य भूमिकाका लागि अनुबन्धित भएकी हुन्।
टेलिचलचित्र ‘सीता’ मा सीताको नन्दको भूमिकामा देखिएकी समियाको यो पहिलो चलचित्र हो। पहिलो चलचित्रमै मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाएकी उनी निकै उत्साहित देखिएकी छन्। नयाँ टिम र अनुभवी कलाकारहरूसँग काम गर्ने अवसर पाउनु आफ्नो लागि खुसीको विषय भएको उनले बताइन्।
चलचित्रमा चर्चित गायक पशुपति शर्मा तथा गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि मुख्य भूमिकामा देखिनेछन्। यी दुवै कलाकारका लागि पनि यो डेब्यु चलचित्र हुनेछ।
कमेडी जनरामा निर्माण हुन लागेको यस चलचित्रले मनोरञ्जनको भरपूर स्वाद दर्शकमाझ पस्किने निर्देशक अमरदीप सापकोटाले बताए। उनका अनुसार चलचित्रलाई हास्य, मनोरञ्जन र समसामयिक विषयवस्तुको संयोजनसहित प्रस्तुत गरिनेछ।




९ असार २०८३, मंगलवार ०९:४७ 







