काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ।
कामना न्यूज पब्लिकेसन्स् परिसरमा आयोजित कार्यक्रममा विमोचन गरिएको १८ कथाको यस संग्रहले मानसिक स्वास्थ्य, मानवीय संवेदना, सामाजिक विभेद, प्रेम, न्याय, स्वास्थ्य सेवा र जीवन संघर्षलाई मनोवैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गरेको छ। बाहिरबाट सामान्य देखिने तर भित्र गहिरो पीडा बोकेर बाँचिरहेका मानिसहरूको कथा यस पुस्तकको मुख्य विषय हो।

कार्यक्रममा समालोचक प्रा.डा. दयाराम श्रेष्ठले संग्रहलाई नेपाली कथा साहित्यमा मनोविज्ञान र आख्यानको सशक्त संयोजन भएको कृति बताए भने वरिष्ठ पत्रकार श्रीराम सिंह बस्नेतले यसलाई यथार्थमा आधारित, पठनीय र मननीय कृति भएको टिप्पणी गरे। नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष कपिल काफ्लेले लेखकको अघिल्लो कृति ‘मर्फिन’ पछि ‘डोपामिन’ले पीडाभित्रको आशा र मानव मस्तिष्कका अदृश्य रासायनिक प्रक्रियालाई कथामार्फत प्रस्तुत गरेको बताए।
लेखक अधिकारीले मानसिक घाउ बोकेका पात्रहरूको कथा वैज्ञानिक तथ्यसँग जोडेर प्रस्तुत गर्ने प्रयास गरेको उल्लेख गर्दै ‘डोपामिन’ मानिसलाई खुसी दिलाउने हार्मोन भएकाले सोही नाम राखिएको जानकारी दिए। कार्यक्रममा कामना न्यूज पब्लिकेशन्स्का अध्यक्ष दिरेकलाल श्रेष्ठ र नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले पनि पुस्तकले समकालीन समाजमा मानसिक स्वास्थ्यसम्बन्धी बहसलाई साहित्यमार्फत नयाँ आयाम दिएको विश्वास व्यक्त गरे।





१८ असार २०८३, बिहीबार १५:५३ 








