आ बाट आमा २’ को क्रोएसिया राइट्स बिक्री

...

काठमाडौँ । आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ को क्रोएसिया प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ। सिनेमा प्रदर्शन हुनु अगावै क्रोएसियाका लागि ‘नेप इन्टरटेन्मेन्ट’ र जाग्रेबस्थित ‘बुद्ध मार्ट’ ले यसको प्रदर्शन अधिकार खरिद गरेका हुन्।

चलचित्रका निर्माता तथा निर्देशक चन्द्र पन्त र क्रोएसियाका फिल्म वितरकबीच प्रदर्शन अधिकारका लागि औपचारिक कागजी सम्झौता भइसकेको छ। पछिल्लो समय क्रोएसियामा नेपालीहरूको चाप अत्यधिक बढ्दै गएका कारण त्यहाँका वितरकहरूले यो फिल्म खरिद गरेका हुन्। यसअघि नै यो चलचित्रको प्रदर्शन अधिकार अमेरिका, क्यानडा र जापान लगायतका देशहरूमा ‘सोल्ड आउट’ भइसकेको निर्माण पक्षले जनाएको छ।

चन्द्र पन्तकै कथा तथा पटकथा रहेको यो चलचित्र आगामी असोज ३० गते बडादसैँको फूलपातीका दिनदेखि देशव्यापी तथा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा छ। ‘दशैँको जमरा र आमाको पर्खाइको कथाू लाई मुख्य विषयवस्तु बनाएको यस चलचित्रको पोस्टरमा ‘आउँछु भन्ने एउटा भुटो आशामा आमाले बर्षेनी जमरा छरिरहन्छिन्’ भन्ने मार्मिक हरफ राखिएको छ, जसले वैदेशिक रोजगारीका कारण टाढिएका सन्तान र उनीहरूलाई कुरेर बस्ने आमाको कारुणिक कथालाई दर्शाउँछ।

आर्य पन्तको प्रस्तुति र आर्या इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बनेको यस चलचित्रमा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत ९गजनीका भिलेन०, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट,दिलिप अखेडा र नरेन खड्का लगायतका चर्चित कलाकारहरूको मुख्य अभिनय देख्न पाइनेछ।

नेपालभर यो चलचित्रको वितरण ‘आर आर फिल्मस्’ ले गर्ने जिम्मा लिएको छ भने यसको डिजिटल अधिकार ‘ओएसआर डिजिटल’ ले खरिद गरिसकेको छ। चलचित्रको प्रोडक्सन म्यानेजरको रूपमा करणसिंह रसाली रहेका छन्। प्रदर्शन अगावै अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापार गरिरहेको यस चलचित्रलाई लिएर दर्शक र सिने वृत्तमा निकै उत्साह देखिएको छ।