महेश–अन्जनाको जोडीमा ‘आशा’ निर्माण घोषणा, माघ १ मा प्रदर्शन

...

काठमाडौं । आगामी माघ १ गते प्रदर्शनमा आउने गरी नयाँ नेपाली फिल्म ‘आशा’ निर्माणको औपचारिक घोषणा गरिएको छ।
आइतबार काठमाडौंको बाँसबारीमा आयोजित एक कार्यक्रमबीच उडान स्टुडियोको ब्यानरमा निर्माण हुने फिल्मको घोषणा गरिएको हो। फिल्मको निर्माण सर्मिला थापाले गर्नेछिन् भने राजिव गुरुङले लेखन तथा निर्देशनको जिम्मेवारी सम्हाल्नेछन्।


फिल्ममा महेश त्रिपाठी र अन्जना बराइली मुख्य भूमिकामा देखिनेछन्। साथै शशांक मैनाली, सुशील सिटौला, आसान्त शर्मा, कविता रेग्मी, केपिना सिंह र विष्णु मोक्तान लगायत कलाकारहरूको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ।


घोषणा कार्यक्रममा फिल्मका कलाकार तथा निर्माण टिमको उपस्थिति रहेको थियो। निर्माण पक्षका अनुसार फिल्मको छायांकन चाँडै सुरु गरिनेछ। चलचित्रलाई आगामी माघ १ गते देशभर प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।