काठमाडौँ । नयाँ फिल्म ‘एक्का मिस्सी बादशाह’ बन्ने भएको छ । फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य अभिनय रहने भन्दै निर्माणको औपचारिक घोषणा गरिएको छ । फिल्मलाई सञ्जय राईले निर्देशन गर्दैछन् । सञ्जयले पहिलोपटक फिल्मको निर्देशन गर्न लागेका हुन् ।
गएको शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा निर्माण टिमले काठमाडौँमा कार्यक्रम आयोजना गर्दै फिल्मको घोषणा गरेको हो । कलाकार र प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ ।
मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको फिल्ममा अभिनेत्री सम्राज्ञीसँगै अन्य कलाकारहरु छनोट प्रक्रियामै छन् । निर्माण टिमले साम्राज्ञीको बोल्ड लुक्ससहितको तस्बिर सार्वजनिक गर्दै उनको पात्रबारे जानकारी दिएको छ ।
केही समयको अन्तरालपछि नयाँ फिल्ममा आउने थालेकी साम्राज्ञीले आफूलाई मन पर्ने क्यारेक्टर नपाएकाले फिल्ममा ग्याप देखिएको बताउँदै यस सिनेमामा भने आफ्नो पात्र मन परेकाले काम गर्न तयार भएको बताइन् । आफ्नो भूमिका साहसिक, बोल्ड, निडर र फरक किसिमको रहेको बताउँदै फिल्मलाई लिएर निकै उत्साहित रहेको जानकारी दिइन् ।

फिल्मको ट्यागलाइन ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ । जित, हार र सफलताको यात्रालाई केन्द्रमा राख्ने भाव बोकेको यो स्लोगनले सिनेमाको कथावस्तुको संकेत गर्छ । डेब्यु निर्देशक सञ्जयले सिनेमा युवापुस्ताको कथामा आधारित रहेको बताए । उनका अनुसार यो अहिलेको सामाजिक सञ्जालको पुस्ता, प्रेम, सम्बन्ध र जीवनका उतारचढावमा केन्द्रित रहनेछ ।
फिल्ममा कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ रहेका छन् । नरेन्द्र मैनालीले छायांकन गर्ने फिल्ममा संगीत निर्माता निकेश कार्की र रोमन बज्राचार्य, स्टाइलिस्ट आशिम रानाभाट तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ । यो फिल्मको छायांकन आगामी फागुनबाट सुरु हुनेछ ।
फिल्म घोषणा कार्यक्रममा फिल्मकी कार्यकारी निर्माता सुदीप्ताले ‘एक्का मिस्सी बादशाह’ आफ्नो लागि विशेष परियोजना भएको बताइन् । कार्यकारी निर्माताको रूपमा सिनेमा क्षेत्रमा नयाँ यात्रा सुरु गर्न लागेको उल्लेख गर्दै उनले भनिन्, ‘यो मेरो लागि नयाँ भूमिका हो । कार्यकारी निर्माताको रूपमा सिनेमा इन्डस्ट्रीमा आइरहेकी छु । त्यसैले यो मेरो लागि धेरै स्पेशल छ ।’
निर्माण पक्षका अनुसार सिनेमाका लागि ‘क्रिश’ र ‘अर्जुन’ नामका दुई मुख्य पुरुष पात्रको खोजी भइरहेको छ । डेब्यु निर्देशक राईका अनुसार यी भूमिकाका लागि अडिसन खुला गरिएको छ । सिनेमामा अन्य कलाकारसहित थप विवरण आगामी दिनमा सार्वजनिक गर्ने निर्माण पक्षले बताएको छ ।





१० श्रावण २०८३, आईतवार १२:५३ 








