‘गजनी’ अभिनेता प्रदीप रावतको निधन, नेपाली फिल्ममा पनि काम गरेका छन्

...

काठमाडौं । बलिउडका चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। ‘लगान’ र ‘गजनी’ जस्ता चर्चित चलचित्रमा सशक्त अभिनय गरेका रावतको मंगलबार साँझ भारतको भिवण्डीस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी विगत पाँच वर्षदेखि रक्त क्यान्सरसँग संघर्षरत थिए। केही समयअघि स्वास्थ्यमा सुधार आए पनि केही महिनाअघि क्यान्सर पुनः बल्झिएपछि उनी लगातार अस्पतालमा उपचाररत थिए। पछिल्ला केही दिनदेखि स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मंगलबार साँझ उनले अन्तिम श्वास लिएका हुन्।

रावतका व्यवसायिक प्रबन्धक सिद्धार्थ तिवारीले उनको निधनको पुष्टि गरेका छन्। उनका अनुसार अन्त्येष्टि बुधबार गरिने सम्भावना छ।

उनको निधनपछि ‘लगान’का सह–अभिनेता यशपाल शर्माले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै, “हाम्रा ‘गजनी’ र ‘लगान’का देवा प्रदीप रावत अब हामीबीच रहेनन्। उनको आत्माले शान्ति पाओस्,” लेखेका छन्।

सन् १९५२ जनवरी २१ मा जन्मिएका रावत हिन्दीसँगै तेलुगु, तमिल, कन्नड, मलयालम, बंगाली र भोजपुरी चलचित्रमा सक्रिय थिए। उनी विशेषगरी खलनायक तथा चरित्र भूमिकाका लागि परिचित थिए। बी.आर. चोप्राको चर्चित टेलिशृंखला ‘महाभारत’ मा अश्वत्थामाको भूमिकाबाट अभिनय यात्रा सुरु गरेका उनले ‘लगान’ मा देवा सिंह सोधी र ‘गजनी’ मा घजिनी धर्मात्माको भूमिकाबाट विशेष लोकप्रियता कमाएका थिए।

रावतले नेपाली चलचित्रमा पनि अभिनय गरेका थिए। उनले पहिलो पटक अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको ‘ह्रस्व दीर्घ’ मा काम गरेका थिए। त्यसपछि ‘आ बाट आमा’ मा अभिनय गरे। उक्त फिल्मको प्रदर्शनका क्रममा उनी नेपाल आएर चलचित्र हलमै पुगेर नेपाली दर्शकसँग प्रत्यक्ष भेटघाट गरेका थिए।

यति मात्र होइन, उनले यसै वर्ष दशैंको अवसरमा प्रदर्शनको तयारीमा रहेको ‘आ बाट आमा २’ मा पनि अभिनय गरेका छन्। यससँगै उनको अन्तिम अभिनयमध्ये एक नेपाली चलचित्र पनि दर्शकले चाँडै पर्दामा हेर्न पाउने भएका छन्।

प्रदीप रावतको निधनसँगै भारतीय मात्र होइन, नेपाली चलचित्र उद्योगले पनि आत्मीय सम्बन्ध भएका एक अनुभवी कलाकार गुमाएको छ।