‘एलिफेन्ट्स इन द फग’का निर्माता भन्छन्– ‘यो तेस्रोलिंगी समुदायको मात्रै कथा होइन’

...

काठमाडौं । भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रतिनीहरू : एलिफेन्ट्स इन द फगतेस्रोलिंगी समुदायको कथामा मात्र आधारित नभएको निर्माण पक्षले स्पष्ट पारेको छ । चलचित्रको ट्रेलरमा किन्नर तथा लैंगिक अल्पसंख्यक समुदायका पात्रहरू उल्लेख्य रूपमा देखिएपछि निर्माण पक्षले फिल्मको मूल कथाबारे प्रस्ट्याएको हो ।

निर्माता अनुप पौडेलका अनुसार चलचित्रको केन्द्रमा किन्नर समुदायकी महिला पिरतीको कथा भए पनि फिल्मलाई केवल तेस्रोलिंगी समुदायको कथाका रूपमा बुझ्दा यसको दायरा साँघुरो हुने बताए । उनका अनुसार पिरती आफ्नो समुदाय, छोरी र आफूले चाहेको जीवनबीच संघर्ष गरिरहेकी पात्र हुन् ।

किन्नर समुदायभित्र रहेका पात्रहरूको कथा हो, तर तेस्रोलिंगी पात्रहरू धेरै भएको फिल्म भनेर मात्र बुझ्दा फिल्मको कथा र अर्थ अलि साँघुरो हुन्छ,” पौडेलले भने, “मूलतः हाम्रो फिल्म एउटी आमा र छोरीको सम्बन्धको कथा हो । एउटी आमाले आफ्नी हराएकी छोरीलाई खोज्न के गर्छिन् र कहाँसम्म पुग्न सक्छिन् भन्ने कथा हो ।

उनका अनुसार किन्नर समुदाय फिल्मको महत्वपूर्ण हिस्सा भए पनि चलचित्रले परिवार, नाता, सम्बन्ध, प्रेम र मातृत्वका विषयलाई पनि केन्द्रमा राखेको छ । समाजले निर्माण गरेका सीमाहरू र त्यसलाई प्रेम तथा मातृत्वले कसरी चुनौती दिन्छ भन्ने पक्षलाई चलचित्रले प्रस्तुत गर्ने उनले बताए ।

किन्नर समुदाय फिल्मको अत्यन्त महत्वपूर्ण हिस्सा हो, तर कथा त्यतिमै सीमित छैन,” पौडेलले भने, “हाम्रा मुख्य पात्रहरू उक्त समुदायबाट हुनुहुन्छ, तर फिल्ममा अन्य समुदाय र पृष्ठभूमिका कलाकारहरू पनि प्रशस्त हुनुहुन्छ ।

आमाको भावना, सम्बन्ध र संघर्ष कुनै एउटा लैंगिक समुदायमा मात्र सीमित नहुने भन्दै निर्माण पक्षले चलचित्रलाई यही व्यापक दृष्टिकोणबाट हेर्न दर्शकलाई आग्रह गरेको छ ।

अविनाश विक्रम शाहको निर्देशनमा बनेको चलचित्रको पटकथा पनि शाहले नै लेखेका हुन् । कथा भने अविनाश विक्रम शाह र सन्दीप बादलको हो । कान्सलगायत विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको यो चलचित्रले कान्समा जुरी च्वाइस अवार्ड समेत प्राप्त गरेको छ । यस कारण पनि नेपालमा चलचित्रप्रति दर्शकको चासो बढेको छ ।

जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको जीवन र संघर्षलाई समेत चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय रहेको छ ।

नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा चलचित्र निर्माण भएको हो । नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स निर्माता रहेका छन् ।

त्यस्तै, प्रचण्डमान श्रेष्ठ, ब्राजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, जर्मनीबाट मार्टिन रेचबक, सुसन्ने मान, नेपालबाट कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल सहनिर्माताका रूपमा जोडिएका छन् । चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेको चलचित्रका एशोसिएट निर्मातामा केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी रहेका छन् ।तिनीहरू : एलिफेन्ट्स इन द फगभदौ १९ गतेदेखि नेपालमा प्रदर्शनमा आउनेछ ।