‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक

...

काठमाडौं । रेखा थापा निर्देशित चलचित्रमाया भनेकै यस्तो होलाको तीज गीतनक्कल पारीसार्वजनिक भएको छ । चलचित्र निर्माण टिमले तीजलाई लक्षित गर्दै लोकलयमा आधारित गीतको भिडियो सार्वजनिक गरेको हो ।

शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको गीतमा प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द छ । तीजको मौलिक स्वादसँगै पछिल्लो समय चाडपर्वमा देखासिकी गर्ने प्रवृत्तिलाई गीतले व्यंग्यात्मक रूपमा प्रस्तुत गरेको छ ।

अरूले लगाएको जस्तै गहना र पहिरन आफूले पनि लगाउनुपर्ने, त्यसका लागि ऋणधन गरेर भए पनि श्रीमान्सँग माग पूरा गराउनुपर्ने प्रवृत्तिलाई गीतमा रमाइलो शैलीमा देखाइएको छ । नक्कल र देखावटीपन बढ्दै गएको तीज संस्कृतितर्फ गीतले संकेत गरेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह फिचर्ड छन् । उनीहरूलाई तीजको माहोलमा छमछमी नचाइएको छ । भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् भने भिडियोमा दर्जनौँ कोरस कलाकारसमेत प्रयोग गरिएको छ ।

दिया एण्ड अमु फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसहित दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको अभिनय छ ।

हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता रहेको चलचित्रको पटकथा ध्रुव लम्सालले लेखेका हुन् । सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक छन् ।

आठ वर्षपछि निर्देशनमा फर्किएकी रेखा थापाको यो चलचित्र भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ । चलचित्रलाई रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्दैछन् ।