प्रचार छाडेर राहतमा जुटिन् अभिनेत्री प्रियना आचार्य, बाढीपीडितका लागि पठाइन् ५ गाडी राहत सामग्री

...

काठमाडौं चलचित्रकार्की साइँलाकी अभिनेत्री प्रियना आचार्यले फिल्मको प्रचारप्रसारलाई थाती राख्दै बाढीपीडितको सहयोगमा जुटेकी छन् । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि प्रियनाले व्यक्तिगत पहलमा ५ गाडी राहत सामग्री पठाएकी हुन् ।

बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै प्रभावित क्षेत्रमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको अभाव भइरहेका बेला प्रियनाले आवश्यक सामग्री जुटाएर प्रभावित क्षेत्रमा पठाएकी हुन् । असोज २ गतेदेखिकार्की साइँलाप्रदर्शनमा आउँदैछ । फिल्म रिलिजको मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त हुनुपर्ने अवस्थामा रहेकी प्रियनाले भने अहिले फिल्मभन्दा मानवीय सहयोगलाई प्राथमिकता दिएकी छन् ।

अहिले फिल्मको प्रचारप्रसारभन्दा पनि बाढीका कारण बिचल्लीमा परेका मानिसहरूलाई राहतको खाँचो छ । त्यसैले अहिले म पूर्ण रूपमा यसै अभियानमा सक्रिय भएर लागेकी छु,” प्रियनाले भनिन् ।

राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेकी प्रियनाले बाढीबाट प्रभावित नागरिकको अवस्था नजिकबाट समेत बुझेकी छन् । विपद्को समयमा आफूले सकेको सहयोग गर्नु कलाकारको पनि सामाजिक दायित्व भएको उनको भनाइ छ ।

यसैबीच, प्रियनाको मुख्य भूमिका रहेको चलचित्रकार्की साइँलाअसोज २ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ । भारी बोकेर जीविकोपार्जन गर्ने कार्की साइँलाको कथामा आधारित चलचित्रमा जितु नेपाल र प्रियना आचार्य मुख्य भूमिकामा छन् ।

फिल्मको सार्वजनिक गीतलग्यौ परानलाई दर्शकले रुचाएका छन् । गीतसँगै जितु र प्रियनाको जोडीको समेत चर्चा भइरहेको छ ।

डम्बर राईको कथामा बनेको चलचित्रलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन् । शंकर धिताल र सबिन अधिकारीको पटकथा तथा संवाद रहेको फिल्मका निर्माता बालकुमार राई र निर्भिक बञ्जारा तथा कार्यकारी निर्माता अनन्त राई हुन् । फिल्ममा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बू, कमल देवकोटा, रोदा राई, मेनुका आचार्य र गणेश राजभण्डारीलगायत कलाकारको अभिनय छ ।