बिजु पार्कीको चलचित्र ‘अन्तिम दाउ’ घोषणा

...

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’ को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फर्स्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण सुरु भएको जानकारी दिएको हो ।

फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुति रहने यो चलचित्रलाई बिजु पार्कीले निर्देशन गर्ने छन् । यो उनको डेब्यू निर्देशन हो ।

पोस्टरहरूले चलचित्र एक्सन र थ्रिलर जनरमा आधारित रहेको सङ्केत गरेको छ । सार्वजनिक गरिएको पहिलो पोस्टरमा ६ जना मुख्य कलाकारहरूलाई एउटै लाइनमा देखाइएको छ । पोस्टरको पृष्ठभूमिमा घना जङ्गल र पहाडको दृश्य छ, जसले कथाको परिवेश कुनै दुर्गम वा जङ्गली क्षेत्रसँग जोडिएको बुझाउँछ ।

यस पोस्टरमा कलाकारहरूको अनुहारमा चोट र रगत लत्पत्तिएको छ । उनीहरूको गम्भीर र आक्रामक भावले चलचित्रमा ठुलो द्वन्द्व रहेको देखाउँछ । पोस्टरको दुई किनारामा रहेका कलाकारहरू कविता नेपाली र निश्चल प्रधान भने रहस्यमयी ढङ्गले मुस्कुराइरहेका देखिन्छन्, जसले कथामा उनीहरूको भूमिका फरक वा षड्यन्त्रकारी हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

त्यस्तै, दोस्रो पोस्टर अझ बढी रहस्यमयी छ । यसमा रातो रङ्गको एउटा ठाडो पट्टीमा ‘२०२७’ लेखिएको छ । यो अङ्कले चलचित्रको कथा भविष्यको समयमा आधारित रहेको वा प्रदर्शन मिति सम्बन्धित रहेको सङ्केत गर्छ ।

यस पोस्टरमा कविता र निश्चलको अनुहारलाई केन्द्रमा राखेर बाँकी चार कलाकारलाई तलको भागमा राखिएको छ ।

कविता नेपाली र निश्चल प्रधानको हाफ लुक्स बडी देखाइएको उक्त पोस्टरमा जहाँ उनीहरूको जबरजस्त हासो छ । बाँकी चार कलाकार विजय लामा, अर्पण थापा, शुशांक मैनाली र पेमा दावा लामा छन् । उनीहरूको अनुहारमा रगत बगिरहेको चोट छ ।

विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान, पेमा दावा लामा र बिमल पुरीको मुख्य अभिनय रहने चलचित्रको सह–निर्माता सुवास तामाङ, कर्मा लामा र पासाङ नोर्बु शेर्पा रहेका छन् । कार्यकारी निर्मातामा रमेश शाही ठकुरी, शिशिर पार्की छन् । प्रोजेक्ट एडभाइजरमा गजित विष्ट र सरिता गिरी छन् । प्रोडक्सन म्यानेजरमा सरोज श्रेष्ठ छन् ।

चिफ असिस्टेन्ट डिरेक्टरमा अनिश बुढाथोकी, असिस्टेन्ट डिरेक्टरमा मार्लोभ ढुंगाना, अनिता स्याङ्बो र विशाल बुढा छन् । कलरिस्ट कुणाल कुँवर छन् । एक्सनमा राजु डोङ, भिएफएक्समा सज्जल लोप्चन, मेकअप र कस्ट्युम डिजाइनर ज्योति केसीको रहनेछ ।

रामप्रसाद चौधरीको सम्पादन रहने चलचित्रमा डीओपी संगम राईको रहनेछ । श्रीराम बालाजी फिम्सको वितरण रहने सिनेमाको पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो रहेको छ ।

निर्माण पक्षका अनुसार चलचित्रको छायाङ्कन छिट्टै सुरु हुनेछ ।