‘शार्क ट्याङ्क नेपाल’ सिजन–२ को होस्टमा साक्षी लम्साल

...

काठमाडौं । हिमालय टेलिभिजनको चर्चित रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’को दोस्रो सिजनमा साक्षी लम्साल आधिकारिक होस्टका रूपमा देखिने भएकी छन्। पहिलो सिजनमा पूर्व मिस नेपाल प्रियंका रानी जोशीले होस्ट गरेको शोको दोस्रो सिजनमा साक्षीले प्रस्तोता जिम्मेवारी सम्हाल्नेछिन्।

शोको दोस्रो सिजनको औपचारिक जानकारी दिन सोमबार काठमाडौंको पाँचतारे होटल एभरेस्टमा आयोजित पत्रकार सम्मेलनमा पनि साक्षी नै होस्टका रूपमा देखिएकी थिइन्। हिमालय टेलिभिजनबाट प्रसारण हुने ‘शार्क ट्याङ्क नेपाल’ सिजन–२ दशैंपछि प्रसारणमा आउने बताइएको छ।

टेलिभिजन कार्यक्रमसँगै विभिन्न कार्यक्रम होस्टिङको अनुभव बटुलेकी साक्षीका लागि ‘शार्क ट्याङ्क नेपाल’को होस्टिङ अर्को महत्वपूर्ण जिम्मेवारी बनेको छ।

दोस्रो सिजनमा पहिलो सिजनकै पाँच जना शार्क दोहोरिएका छन्। निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगारिया, अग्नि ग्रुपका सहसंस्थापक तथा अध्यक्ष क्याबिनेट श्रेष्ठ, पद्मज्योति ग्रुपका लगानीकर्ता तथा स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योति, वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेजकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य र आईएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकाल दोस्रो सिजनमा पनि शार्कका रूपमा रहनेछन्।