चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगितामा सामग्री पठाउने म्याद थप

...

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले नेपाली चलचित्र पत्रकारिताको स्तर अभिवृद्धि तथा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागेको ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३’ मा सहभागी हुन सामग्री पठाउने म्याद थप गरेको छ।

यसअघि २०८३ साल असोज २३ गतेसम्म सामग्री पठाउन सकिने गरी सार्वजनिक सूचना जारी गरिएकोमा अब आगामी २०८३ साल मंसिर १ गतेसम्म सामग्री पठाउन सकिने संघले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक पत्रकारहरूले चलचित्र, गीत–संगीत, कला, साहित्य वा रंगमञ्चसँग सम्बन्धित फिचर स्टोरी, आर्टिकल वा चलचित्र समीक्षा तयार गरी [email protected] मा पठाउन सक्नेछन्।

प्रतियोगिताका लागि पठाइने सामग्री न्यूनतम १,१०० शब्ददेखि अधिकतम १,९०० शब्दसम्मको हुनुपर्नेछ। प्राप्त सामग्रीमध्ये संघद्वारा गठित छनोट समितिले उत्कृष्ट पाँच सामग्री छनोट गर्नेछ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार रुपैयाँ, तृतीय हुनेलाई १० हजार रुपैयाँ तथा दुई जना सान्त्वना विजेतालाई जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी सामग्री मौलिक, अप्रकाशित तथा लेखक स्वयंको सिर्जना हुनुपर्नेछ। प्रतियोगितामा संघका सदस्यहरू तथा मौलिक लेखनलाई प्राथमिकता दिइने संघले जनाएको छ।

चलचित्र पत्रकारिताको गुणस्तरीय विकास र सिर्जनशील लेखन संस्कृतिलाई सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण चलचित्र पत्रकारहरूलाई संघले आग्रह गरेको छ।