दशैं मनाउन घर जाने क्रममा गायिका सृजना खत्री सवार गाडी दुर्घटनामा

...

काठमाडौं । गायिका सृजना खत्री सवार बोलेरो गाडी भक्तपुरको जगातीमा दुर्घटनामा परेको छ। दशैं मनाउन सिन्धुपाल्चोकस्थित घर जाने क्रममा उनीसहित परिवारका सदस्य र अन्य आफन्त सवार गाडी दुर्घटनामा परेको हो।

खत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनाबारे जानकारी दिँदै आफूहरूमध्ये पाँच जना परिवारका सदस्य र अन्य तीन जना गरी आठ जना गाडीमा सवार रहेको बताएकी छन्। दुर्घटनामा परी उनीहरू घाइते भएका छन्। भगवान्को कृपाले सबै जना बाँच्न सफल भएको उनले उल्लेख गरेकी छन्।

दुर्घटनापछि घाइतेहरूलाई भक्तपुरस्थित मध्यपुर अस्पतालमा भर्ना गरिएको छ। खत्रीका अनुसार उनका दुई दाइ र भाउजूको शल्यक्रिया भइरहेको छ भने अन्य घाइतेहरू चिकित्सकको निगरानीमा उपचाररत छन्।

‘आजको दिन हाम्रो लागि कालो दिन बनेको छ,’ उनले फेसबुकमा लेखेकी छन्, ‘चोटहरू त गहिरा छन् तर पनि भगवान्को कृपाले बाँच्न सफल भयौँ।’

उनले आफ्नो तथा परिवारका सदस्यहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने आफन्त, परिवार र शुभचिन्तकहरूप्रति धन्यवादसमेत व्यक्त गरेकी छन्।

‘मेरो एक्सको छम्मा’, ‘हाउडे माया’, ‘नौटंकी माया’ र ‘फूल माया’ लगायतका गीतबाट चर्चामा आएकी गायिका खत्रीको दुर्घटनाको खबर सार्वजनिक भएसँगै उनका शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।