काठमाडौं । गायिका ज्योती मगरले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एउटा कविताले अहिले चर्चा पाउने विषय बनेको छ । आइतबार राति करिब १० बजे उनले आफ्नो फेसबुकमा कविता सार्वजनिक गर्दै महिला र पुरुषलाई हेर्ने समाजको दोहोरो दृष्टिकोणप्रति प्रश्न उठाएकी छन् ।
‘तिमी मर्द कहलायौ, म चरित्रहीन भए’ शीर्षकमा राखिएको उनको कवितामा यौनिकता, प्रेम, सम्बन्ध र महिलाको चरित्रमाथि समाजले गर्ने टिप्पणीलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
कवितामा ज्योतीले लेखेकी छन्, ‘तिमी यौवन लुट्दै गयौ, म लुटाउँदै गएँ । तिमी मर्द कहलायौ, म चरित्रहीन भएँ ।’ कविताका विभिन्न हरफमा उनले पुरुषले गर्ने व्यवहारलाई सामान्य मान्ने तर त्यही विषयमा महिलालाई चरित्रसँग जोडेर प्रश्न उठाउने सामाजिक सोचमाथि कटाक्ष गरेकी छन् ।
उनले कविता सार्वजनिक गर्दा एउटा तस्बिरसमेत राखेकी छन् । उनको तस्बिर र कविताको विषयवस्तु दुवैले सामाजिक सञ्जालमा थप चासो पैदा गरेका छन् ।
ज्योती मगर नेपाली लोकदोहोरी तथा सांगीतिक क्षेत्रमा आफ्नो फरक प्रस्तुति शैलीका कारण सधैँ चर्चामा रहने गायिका हुन् । विशेषगरी स्टेज कार्यक्रममा उनले प्रस्तुत गर्ने पहिरन, नृत्य र हाउभाउलाई लिएर बेलाबेलामा प्रशंसा र आलोचना दुवै हुने गरेका छन् । उनको प्रस्तुति शैलीलाई कतिपयले मनोरञ्जन र व्यक्तिगत अभिव्यक्तिको स्वतन्त्रताका रूपमा लिने गरेका छन् भने कतिपयले सामाजिक मर्यादाको दृष्टिकोणबाट प्रश्न उठाउँदै आएका छन् ।
यस्तो पृष्ठभूमिमा ज्योतीले सार्वजनिक गरेको कवितालाई उनको व्यक्तित्व र प्रस्तुतिलाई लिएर हुने टिप्पणीसँग जोडेर पनि हेर्न सकिन्छ । यद्यपि, उनले यो कविता कसलाई लक्षित गरेर लेखेकी हुन् वा कुनै विशेष घटनाप्रति प्रतिक्रिया जनाएकी हुन् भन्नेबारे खुलाएकी छैनन् ।
आफ्नो प्रस्तुति र अभिव्यक्तिका कारण बारम्बार चर्चामा आउने ज्योतीको यसपटकको कविता भने केवल सांगीतिक विषयमा सीमित छैन । यसले महिला र पुरुषको चरित्रलाई समाजले हेर्ने फरक दृष्टिकोणबारे बहस गर्ने ठाउँसमेत दिएको छ ।
उनले लेखेको पुरा कविता पढ्नुहोस्ः
तिमि यौवन लुट्दै गयौ!म लुटाउदै गए!!
तिमी मर्द कहलायौ!म चरित्र हिन भए!!
बस्त्र बिना बिस्तारामा ! लडिबुडी दुबै!!
नबोलेरै लुकामारी ! लुछाचुडी खुबै!!
म बेहोसी उनान्सय ! तिमी त झन सय!!
तिमी मर्द कहलायौ ! म चरित्र हिन भए!!
उहीँ पागलपन!उस्तै प्रेम!!उस्तै मज्जा पनि!!!
हाम्लाइ हेर्दै सर्माउने ! गर्थ्यो लज्जा पनि!!
शब्दले वर्णन!गर्न सकि!!दैन कतिपय!!!
तिमी मर्द कहलायौ ! म चरित्र हिन भए!!
मर्नु भन्दा ठूलो कुरा ! गिर्नु रहेछ!!
गिर्नु भन्दा ठूलो!दलदल मै!! छिर्नु रहेछ!!!
कमल देखे!दलदल मै म!!हाम फालेर गए!!!
तिमी मर्द कहलायौ ! म चरित्र हिन भए!!
ज्योती मगर




३० कार्तिक २०८३, आईतवार २२:१४ 








