इन्स्टाग्राममा नेपाली सेलिब्रेटी, पछाडि छन् पुरुष सेलिब्रेटी

...

असोज, काठमाडौं ।  स्र्माटफोनको व्यापकतासँगै सामाजिक सञ्जालको जालमा नपर्ने मानिस फेला पार्न मुस्किल छ । फेसबुक, ट्विटर, युट्युब हुँदै अहिलेको पुस्ता तस्बिर तथा छोटो भिडियो सेयर गर्ने सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ तर्फ आकर्षित भएको छ । नेपालको के कुरा, यतिबेला हलिउड, बलिउडदेखि विश्वका उत्कृष्ट फुटबलर तथा क्रिकेटरहरूसमेत इन्स्टाग्रामको लतमा फसेका छन् । इन्स्टाग्राममा जति बढी फलोअर भए, सफलताको रेटिङ त्यति धेरै हुन थालेपछि फलोअरको संख्याले सेलिब्रेटीको सफलतासमेत मापन गर्न थालिएको छ । सेलिब्रेटीलाई अझ बढी सेलिब्रेटी बनाउने तथा प्रशंसकमाझ तुरुन्तै जोड्ने इन्स्टाग्रामबाट नेपाली सेलिब्रेटीहरू पनि अछुतो छैनन् । तस्बिर अपलोड गर्ने यो सामाजिक सञ्जाल युवापुस्ताका नेपाली माझ समेत उत्तिकै लोकप्रिय छ । कलेज अध्ययरत युवा–युवतीहरूमात्र होइन, थुप्रै नेपाली सेलिब्रेटी यतिबेला इन्स्टाग्रामको लतमा छन् भन्दा फरक पर्दैन ।

nepali artists in istagramके हो इन्स्टाग्राम ?
इन्स्टाग्राम फेसबुक तथा ट्विटरजस्तै एउटा अर्को सामाजिक सञ्जाल हो । इन्स्टाग्राममा आफूलाई मन परेका सेलिब्रेटीलाई एक क्लिककै भरमा पछ्याउन सकिन्छ र उनीहरूका हरेक गतिविधिलाई आफ्नै मोबाइलको डिस्प्लेमा नियाल्न सकिन्छ । इन्स्टाग्राममा अपलोड भएका तस्बिरमा ‘ट्याप’ गरेर लाइक अथवा कमेन्ट गर्न सकिन्छ । फोटो तथा भिडियो सेयर गर्ने यो सामाजिक सञ्जालमा मोबाइलबाट खिचिएका तस्बिर तुरुन्तै सेयर गर्न सकिन्छ । इन्स्टाग्रामको सबैभन्दा ठूलो विशेषता के छ भने, कुनै तस्बिर खिचेर इन्स्टाग्राममा सेयर गरियो भने त्यही फोटो एक क्लिककै भरमा फेसबुक, ट्विटर, टम्बलर तथा फ्लिकरमा पनि सेयर हुनसक्छ । इस्टाग्राममा बढीमा १५ सेकेन्डसम्मको भिडियो तथा स्क्वायर साइजका तस्बिर सेयर गर्न सकिन्छ ।

इन्स्टाग्रामले हालै जारी गरेको ‘प्रेसनोट’ का अनुसार यतिबेला विश्वमा करिब ४० करोड मानिसले इन्स्टाग्राम प्रयोग गरिरहेका छन् । ‘हामी आज यो कुरा घोषणा गर्न पाउँदा अत्यन्त उत्साहित छौं कि इन्स्टाग्राम समुदाय फैलिएर ४० करोडभन्दा बलियो भएको छ, हालै जारी गरिएको प्रेसनोटमा भनिएको छ— ‘हाम्रो परिवारका करिब ७५ प्रतिशत सदस्य अमेरिकाभन्दा बाहिरका छन् ।’ इन्स्टाग्रामका प्रयोगकर्तामध्ये आधा त युरोप तथा एसियाका मात्र छन् । पछिल्लो समय ब्राजिल, जापान तथा इन्डोनेसियामा इन्स्टाग्रामका प्रयोगकर्ता ह्वात्तै बढेको तथ्यांक छ । इन्स्टग्राममा अहिले प्रत्येक दिन ८ करोड भन्दा बढी तस्बिर सेयर भैरहेका छन् ।

इन्स्टाग्रामको थालनी भएको धेरै भएको छैन । ठ्याक्कै ५ वर्षअघि अर्थात् २०१० को अक्टोबर महिनामा दुई सफ्टवेयर इन्जिनियर केभिन सिस्ट्रोम तथा माइक्र क्रिगरले इन्स्टाग्रामको थालनी गरेका थिए । सञ्चालनमा आएको करिब दुई वर्षपछि अर्थात् अप्रिल, २०१२ मा इन्स्टाग्रामलाई फेसबुकले करिब १ अर्ब डलरमा खरिद गरेपछि यसको लोकप्रियता ह्वात्तै बढेको हो । आज विश्वप्रसिद्ध सेलिब्रेटीहरू इन्स्टाग्रामका नियमित प्रयोगकर्ता छन् ।

स्मार्टफोनको प्रयोग बढेसँगै नेपालमा पनि इन्स्टाग्रामका पारखीहरूको संख्या बढ्न थालेको हो । स्मार्टफोन भएका जो–कोही यतिबेला इन्स्टाग्राममा जोडिने क्रम ह्वात्तै बढेको छ । इन्स्टाग्रामको एप आफ्नो मोबाइलमा इन्स्टल गर्न पनि सजिलो छ । आईओएस, एन्ड्रोइड तथा विन्डोज फोनमा डाउनलोड गरी इन्स्टाग्राम एप्स इन्स्टल गर्न सकिन्छ । स्मार्ट फोनबाट खिचिएका तस्बिरलाई इन्स्टाग्राममा सजिलै पोस्ट गर्न सकिनु नै यसको मुख्य आकर्षण हो । हालै मात्र इन्स्टाग्रामले १५ सेकेन्डसम्मको भिडियो अपलोड गर्न सक्ने सुविधा पनि ल्याएको छ । स्क्वायर आकारमै पोस्ट गर्न सकिने यो भिडियोमा पनि विभिन्न खालका फिल्टर प्रयोग गर्न सकिन्छ । स्मार्टफोनबाट खिचिएका तस्बिर सेयर गर्न सजिलो हुने भएकाले पनि इन्स्टाग्राम प्रयोगकर्तामाझ लोकप्रिय हुँदै गएको हो ।

नेपालमा केही वर्षयता इन्स्टाग्रामका प्रयोगकर्ता बढे पनि विदेशमा भने यो क्रम केही वर्ष पहिले नै सुरु भएको हो । हालै अमेरिकामा गरिएको एउटा सर्वेक्षणअनुसार फेसबुक र ट्विटरभन्दा इन्स्टाग्राम बढी प्रचलित भएको तथ्यांक सार्वजनिक भएको छ । त्यसबाहेक, विभिन्न सामाजिक अभियानका लागि पनि इन्स्टाग्रामको प्रयोग बढ्दै गएको छ ।
nepali artist in istagramइन्स्टाग्राममा नेपाली सेलिब्रेटी
फेसबुकको पेज तथा ट्विटरको एकाउन्टमा झैं इन्स्टाग्राममा समेत कुन सेलिब्रेटीका कति फलोअर छन् भन्ने कुराले ठूलो महत्त्व राख्छ । धेरै फलोअर हुने सेलिब्रेटीमध्ये हलिउडका अभिनेत्रीहरूको नाम अग्रपंक्तिमा आउँछ ।

नेपाली सेलिब्रेटीहरू मध्ये सबैभन्दा बढी फलोअर कमाउने को होला रु धेरैलाई अचम्म लाग्न सक्छ, हाल अमेरिकामा रहेकी मेकअप आर्टिष्ट प्रोमिस तामाङ इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर हुने नेपाली सेलिब्रेटी हुन् । गोरखामा प्रतीक्षा तामाङका रूपमा जन्म लिए पनि अमेरिका पुगेपछि प्रोमिस तामाङ फान भएकी यी युवती १५ वर्षको उमेरमै अमेरिका पुगेकी थिइन् । ‘यूट्युब मेकअप गुरु’ का रूपमा प्रसिद्ध प्रोमिसलाई मंगलबार साँझसम्ममा ८ लाख ३ हजार फलोअरले पछ्याएका छन् । हलिउडका सेलिब्रेटीहरूको समेत मेकअप गरिसकेकी प्रोमिसले इन्स्टाग्राममा राखेको एउटा तस्बिरले कम्तीमा २० हजार लाइक पाउने गरेको छ । नेपाली सांस्कृतिक नृत्यका साथै हिपहप तथा ब्रेक डान्समा समेत निपूर्ण प्रोमिसले युट्युबमा पहिलो पटक एउटा नृत्यको भिडियो सेयर गरेकी थिइन् भने पहिलो मेकअप नाभिसको गरेकी थिइन् । स्टिभ फानसँग वैवाहिक जीवन प्रारम्भ गरेपछि उनी प्रोमिस तामाङ फान भएकी हुन् ।

चर्चित नेपाली फेसन डिजाइनर प्रवल गुरुङ इन्स्टाग्राममा सबैभन्दा बढी पछ्याइएका सेलिब्रेटीको सूचीमा दोस्रो नम्बरमा छन् । प्रबललाई इन्स्टाग्राममा ३ लाख ४ हजार जनाले पछ्याएका छन् । हलिउडका अधिकांश महिला सेलिब्रेटीका पहिरन डिजाइन गरेर चर्चामा आएका गुरुङले तयार पारेका पहिरन विश्वप्रसिद्ध फेसन शोमा प्रदर्शनसमेत भैसकेका छन् । प्रवलको एकाउन्टलाई इन्स्टाग्रामले भेरीफाइसमेत गरेको छ ।

नेपालमै रहेका सेलिब्रेटीहरूमा अभिनेत्री प्रियंका कार्की इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर पाउने व्यक्ति हुन् । प्रियंकालाई हालसम्म ५४ हजारभन्दा बढी इन्स्टाग्राम प्रयोगकर्ताले फलो गरेका छन् । इन्स्टाग्राममा प्रियंकाले सेयर गरेका तस्बिरहरूले कम्तीमा २ हजार लाइक पाउँछन् । आफ्ना हरेक गतिविधिलाई सामाजिक सञ्चालमा सेयर गर्न मन पराउने प्रियंकाले फेसबुक पेजमा पनि प्रशस्त लाइक पाएकी छिन् । केही महिनाअघि प्रियंकाले आफ्ना प्रशंसकहरूसँग इन्स्टा–च्याट समेत गरेकी थिइन् । हालसम्म १५ सय भन्दा बढि तस्बिर सेयर गरिसकेकी प्रियंका पछिल्लो समय फेसबुक र ट्विटरभन्दा बढी इन्स्टाग्राममा सक्रिय देखिन्छिन् ।

प्रियंका कार्कीपछि पूर्व मिस नेपाल माल्भिका सुब्बा सर्वाधिक फलोअर पाउने नेपाली सेलिब्रेटी हुन् । मंगलबार साँझसम्म माल्भिकालाई करिब ३९ हजारले पछ्याएका छन् । इन्स्टाग्राममा झन्डै १४ सयवटा तस्बिर सेयर गरिसकेकी माल्भिकाले करिव ७ सय जनालाई पछ्याएकी छिन् ।

पूर्व मिस नेपाल सृष्टि श्रेष्ठलाई इन्स्टाग्राममा पछ्याउनेहरूको संख्या ३७ हजारभन्दा बढी छ । बेलायतमा अध्ययन गरेर स्वदेश फर्किएलगत्तै मिस नेपाल २०१२ को उपाधि जितेकी सृष्टि पछिल्लो समय म्युजिक भिडियोहरूमा पनि व्यस्त छिन् । एउटा हिन्दी गीतको म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएकी सृष्टिले इन्स्टाग्राममा १ सय ४ जनालाई पछ्याएकी छिन् ।

मोडल अदिती बुढाथोकीलाई इन्स्टाग्राममा पछ्याउनेहरूको संख्या ठ्याक्कै ३७ हजार छ । साप्ताहिकको सहकार्यमा दुई वर्षअघि सम्पन्न जोय पपैया ग्ल्याम हन्टमा सहभागिता जनाएकी यी सुन्दर मोडल इन्स्टाग्राममा नियमित रूपमा तस्बिरहरू अपलोड गरिरहन्छिन् । उनले हालसम्म १२ सय ५६ वटा तस्बिरहरू सेयर गरिसकेकी छिन् । अदितीले ३ सय ३५ जनालाई पछ्याएकी छिन् । फेसन शोहरूमा आकर्षक क्याटवाक गरेर चर्चामा आएकी अदिति विज्ञापनहरूमा मोडलिङ गरिरहेकी छिन् ।

सुन्दर अभिनेत्री नम्रता श्रेष्ठ पनि इन्स्टाग्राममा लोकप्रिय नेपाली सेलिब्रेटीहरूमध्येकी एक हुन् । श्रेष्ठलाई हालसम्म करिब २४ हजार प्रयोगकर्ताले फलो गरेका छन् । २ सय ४७ वटा तस्बिर सेयर गरेकी नम्रताले १० जनालाई मात्र इन्स्टाग्राममा पछ्याएकी छिन् । इन्स्टाग्राममा तस्बिर सेयर गर्नेबित्तिकै केही हजार लाइक पाउने नम्रताका तस्बिरमा कमेन्ट पनि प्रशस्त आउँछन् । म्युजिक भिडियो तथा चलचित्रमा सक्रिय नम्रता फुर्सदमा फेसबुक फ्यान पेज तथा इन्स्टाग्राममा तस्बिर सेयर गर्न रुचाउँछिन् ।
पूर्व मिस नेपाल मलिना जोशीलाई इन्स्टाग्राममा पछ्याउनेहरूको संख्या करिब २० हजार छ । हालसम्म ५ सय ९५ वटा तस्बिर सेयर गरिसकेकी मलिनाले इन्स्टाग्राममा १ सय २५ जनालाई फलो गरेकी छिन् । २०११ की यी मिस नेपाल पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय छिन् । केही चलचित्रमा समेत अभिनय गरिसकेकी मलिनाले इन्स्टाग्राममा सेयर गरेका तस्बिरले पाउने लाइक तथा कमेन्ट लोभलाग्दो छ ।

फेसन डिजाइनर शुभेच्छा भँडेललाई पनि थुप्रै प्रशंसकले पछ्याएका छन् । शुभेच्छालाई इन्स्टाग्राममा फलो गर्नेहरूको संख्या करिब १६ हजार छ । नेपालका अधिकांश सेलिब्रेटीका लागि पहिरन डिजाइन गरिसकेकी शुभेच्छा पूर्व मिस नेपाल तथा केही नेपाली नायिकाकी प्रिय डिजाइनरसमेत हुन् । हालसम्म १६ सय ७५ वटा तस्बिर सेयर गरिसकेकी शुभेच्छाले इन्स्टाग्राममा ८ सय ३७ जनालाई फलो गरेकी छिन् ।

भलिवल खेलाडी सिपोरा गुरुङलाई इन्स्टाग्राममा पछ्याउनेहरूको संख्या १६ हजार ६ सयभन्दा बढी छ । हालसम्म ५ सय ३० वटा तस्बिर सेयर गरिसकेकी यी सुन्दर खेलाडीले १ सय ३७ जनालाई फलो गरेकी छिन् ।

मोडल आस्था पोखरेलले पनि इन्स्टग्राममा १३ हजार ६ सयभन्दा बढी फलोअर कमाएकी छिन् । हालसम्म १ हजार २ सय १३ वटा तस्बिर सेयर गरिसकेकी आस्थाले ६ सय ४३ जनालाई फलो गरेकी छिन् । भारतबाट सार्वजनिक भएको किङफिसर क्यालेन्डरमा प्रस्तुत भएर एकाएक सेलिब्रेटी बनेकी आस्था पेसाले नर्स हुन् । म्युजिक भिडियो तथा र्‍याम्प मोडलिङमा आस्थाले आफ्नो अलग्गै पहिचान बनाएकी छिन् ।

मोडल तथा भिडियो जक्की शुभेच्छा खड्कालाई इन्स्टाग्राममा पछ्याउनेहरूको संख्या करिब १४ हजार छ । टेलिभिजन कार्यक्रममार्फत दर्शकको मन जित्दै आएकी शुभेच्छाले हालसम्म ९ सयभन्दा बढी तस्बिर सेयर गरेकी छिन् । सन् २०१२ की मिस नेपाल इन्टरनेसनल शुभेच्छाले सेयर गर्ने तस्बिरले प्रशस्त लाइक तथा कमेन्ट पाइरहेका छन् ।

पछाडि छन् पुरुष सेलिब्रेटी
नेपाली महिला सेलिब्रेटीहरूले हजारौं फलोअर कमाए पनि पुरुष सेलिब्रेटीहरू भने इन्स्टाग्राममा निकै पछाडि छन् । नेपाली ब्लगर लेक्स लिम्बु इन्स्टाग्राममा सर्वाधिक फलोअर पाउने नेपाली सेलिब्रेटीको सूचीमा अग्रस्थानमा छन् । मंगलबार साँझसम्म लेक्सलाई पछ्याउनेहरूको संख्या १० हजार ८ सयभन्दा बढी छन् । लेक्सले फेसबुक तथा ट्विटरमा समेत प्रशस्त फलोअर कमाएका छन् ।

युट्युबमार्फत सेलिब्रेटी भएका आयुष रिमाल सर्वाधिक फलोअर पाउने नेपालीहरूको सूचीमा दोस्रो स्थानमा छन् । उनलाई हालसम्म ९ हजार ३९ जनाले फलो गरेका छन् । आयुषले युट्युबमा सेयर गरेका रमाइला भिडियो हजारौं दर्शकको रोजाइमा परिरहेका छन् । रिमालले पछिल्लो समय तयार पारेका डबमास भिडियोहरू पनि लोकप्रिय भैरहेका छन् । कान्तिपुर गोल्डका भिडियो जक्की आयुष्मान देशराज जोशी श्रेष्ठ पनि सर्वाधिक फलोअर कमाउने नेपाली पुरुष सेलिब्रेटी हुन् । आयुष्मानलाई हालसम्म ८ हजार ४ सय ६८ जनाले फलो गरेका छन् । अहिलेसम्म १ हजार २ सय ११ वटा तस्बिर सेयर गरिसकेका आयुष्मानले ४ सय ७९ जनालाई फलो गरेका छन् । उनका फलोअरमा युवतीहरूको संख्या अत्यधिक देखिन्छ । श्रेष्ठले सेयर गर्ने तस्बिरहरूले प्रशस्त लाइक तथा कमेन्ट पाइरहेका छन् । चकलेटी अभिनेता अनमोल केसी नेपाली पुरुष सेलिब्रेटीतर्फ सर्वाधिक फलोअर पाउने अर्का सेलिब्रेटी हुन् । अनमोललाई हालसम्म ६ हजार ७ सय ७७ जना प्रशंसकले पछ्याएका छन् । १ सय १७ वटा तस्बिर सेयर गरेका अनमोलले १ सय ७९ जनालाई फलो गरेका छन् । अनमोलका पोस्टहरूले कम्तीमा १ हजार लाइक पाउने गरेका छन् । अनमोलपछि अभिनेता राजबल्लभ कोइरालालाई पछ्याउनेहरूको संख्या बढी छ । राजबल्लभलाई हालसम्म ५ हजार २ सय ९४ जनाले पछ्याएका छन् । राजबल्लभले हालसम्म १ हजार ७ सयभन्दा बढी तस्बिर सेयर गरेका छन् । अभिनेता दयाहाङ राईलाई २ हजार १ सय ७० जनाले फलो गरेका छन् । सामाजिक सञ्जालमा निकै कम देखिने दयाहाङले इन्स्टाग्राममा जम्मा २२ वटा तस्बिर सेयर गरेका छन् । उनले २५ जनालाई फलो गरेका छन् ।

-कृष्ण भट्टराई /साप्ताहिक बाट साभार