आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा ठूलो योगदान पुर्याएका वरिष्ट गायक तथा संगीतकार शम्भुजित बास्कोटालाई लिएर यही असोज १३ र १४ असोजमा काठमाडौंमा ‘शम्भुजित स्वर्णीम सांगीतिक यात्रा २०१८’ आयोजना हुने भएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै संगीतकार बास्कोटाले आफ्नो यो स्वर्णीम साँझको बारेमा जानकारी गराए । साधना कला केन्द्रको आयोजनामा हुने यो स्वर्णीम सांगीतिक साँझ काठमाडौंका टुँडिखेलमा १३ असोजमा हुनेछ । दिउँसोबाट सुरु हुने सो कार्यक्रममा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको बास्कोटाले बताए ।

टुँडिखेलको कार्यक्रममा बास्कोटासहित प्रेमध्वज प्रधान, योगेश वैद्य, दीपक खरेल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अनन्द कार्कीजस्ता अघिल्ला पुस्ताका कलाकारले एकदेखि तीनवटासम्म बास्कोटाको संगीतमा रेकर्ड भएका आफ्ना गीत गाउने छन् । यस्तै यम बराल, राजेशपायल राई, अमर तण्डुकार, देविका बन्दना, कर्णदास, मनोज राज, प्रमोद खरेल, निशा देशार, टीका प्रसाईं, विश्व नेपाली, सञ्जय तुम्रुक, बानिका प्रधान, मीना निरौला, सुरेश लामा, सुरजकुमार थापा, स्मिता दाहाल, युवराज चौलागार्इं, केञ्जल मेहरले चर्चित गीत प्रस्तुत गर्नेछन् ।

२२ जना प्रत्यक्ष वाद्यवादकको वाद्यवादनमा यी आपूmसहित यी कलाकारले आफ्ना गीत गाउने र कार्यक्रम करिब चार घण्टासम्म संगीतमय हुने गायक एवं संगीतकार बास्कोटाले बताए । कलाकारले करिब चार दर्जन गीत सुनाउने छन् ।

यस्तै १४ असोज साँझ साँढे ५ बजेबाट काठमाडौंको सोल्टी होटलमा पनि यही कार्यक्रम आयोजना गरिनेछ । रात्री खानासहित आयोजना हुने यो कार्यक्रममा भारतीय गायिका अनुराधा पौडवाल, संजीवनीसहित नेपाली गायिका दीपानारायण झाले पनि शम्भुजित बासकोटाद्वारा स्वरबद्ध आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन् ।

टुँडिखेलमा आउन समय नभएका विशेष दर्शक श्रोताका लागि ५ हजार रुपैयाँ टिकटसहितको यो कार्यक्रम सोल्टीमा आयोजना गरिएको पनि बास्कोटाले जानकारी गराए ।

कार्यक्रमका आयोजक एवं साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपाली संगीतमा बास्कोटाको चार दशक पूरा भएको अवसरमा यो शम्भुजित स्वर्णीम सांगीतिक यात्रा आयोजना गर्न लागिएको बताए । यो यात्रा काठमाडौंबाट सुरु भएर दुई वर्षभित्र विश्वका दुई दर्जनभन्दा बढी देशमा आयोजना गरिने मोक्तानले बताए ।